काठमाडौं। हामीले दैनिक सुन्ने कोरोना अपडेटको सुचना गलत भएको पाइएको छ । नेपाल सरकारले दिने तथ्याङकमा नै टुत्री भेटिएको छ । कोरोनाको अपडेटनै गलत दिने गरेको पाइएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक दिन अपडेट गर्ने कोभिड-१९ संक्रमणको तथ्यांकमा त्रुटी हुने गरेको तथ्य भेटिएको छ। दैनिक पीसीआर परीक्षण र संक्रमितको तथ्यांकमा ‘मिसम्याच’ देखिएको हो।
यही साउन ९ देखि १३ गतेसम्म चिकित्सा शिक्षा आयोगले एमबीबीएसका विद्यार्थीको एकीकृत प्रवेश परीक्षा लिएको थियो। परीक्षामा सहभागी विद्यार्थीलाई पीसीआर परीक्षण अनिवार्य गरिएको थियो। परीक्षा दिन ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट आयोगले अनिवार्य गरेको थियो। त्यसैअनुरुप परीक्षामा सहभागी हुने करिब ३२ हजार विद्यार्थीले सो अवधिमा पीसीआर परीक्षण गराए।
तर सो अबधीमा एमबीबीएसका परीक्षार्थीको पीसीआर परीक्षणको तथ्याङ्क र मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कको तुलनात्मक अध्ययन गर्दा सरकारले हरेक दिन ‘ब्रिफिङ’ गर्ने सूचना कि त अपुरो या कि त गडबडीपूणर् रहेको स्पष्ट हुन्छ।
साउन पहिलो साता देशभरका प्रयोगशालाबाट दैनिक ८ हजारको हाराहारीमा पीसीआर परीक्षण हुँदै आएको थियो। आयोगको परीक्षा ९ गतेबाट सुरु हुने भए पनि दोस्रो साता परीक्षण केहीमात्र बढेको देखिएको छ। साउन ९ गतेदेखि १३ गतेसम्म भएको परीक्षामा ३२ हजारभन्दा धेरै विद्यार्थी सहभागी भएका थिए।
परीक्षामा सहभागी हुने विद्यार्थीले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य रुपमा देखाउनुपर्ने थियो। सोहीअनुसार ३२ हजार ६६९ विद्यार्थीले पीसीआर परीक्षण गरी रिपोर्ट देखाएर परीक्षामा सहभागी भएको चिकित्सा शिक्षा आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलले जानकारी दिएका छन्।
साउन ९ गतेको पहिलो दिन एमबीबीएसको परीक्षामा मात्रै ११ हजार ४२ जना परीक्षार्थी कोरोना रिपोर्टसहित सामेल भएका थिए। पीसीआर गरेको २४ घण्टाभित्र रिपोर्ट आउँछ र रिपोर्ट आएको २४ घण्टाभित्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रयोगशालाले तथ्यांक पठाउने गर्छन्।
यदि विद्यार्थीले ९ गतेको परीक्षाको लागि ६ गते परीक्षण गरेको भए पनि २४ घण्टाभित्र प्रयोगशालाले विद्यार्थीलाई रिपोर्ट उपलब्ध गरायो। रिपोर्ट आएको २४ घण्टाभित्र मन्त्रालयलाई तथ्यांक उपलब्ध हुन्छ। यसरी ६ गतेको पीसीआर परीक्षणको रिपोर्ट ८ गते मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्छ।
९ गतेको परीक्षाको लागि विद्यार्थीले ६, ७ र ८ गतेभित्र परीक्षण गरेको भए पनि रिपोर्ट ८ गतेपछि मात्र सरकारले सार्वजनिक गर्न सक्छ। सरकारले ८ गते सार्वजनिक गरेको तथ्यांकमा देशभर १३ हजार ६९८ जनाको पीसीआर परीक्षण भएको उल्लेख छ। अघिल्लो दिन ९ हजार १२२ जनाले परीक्षण गराएका थिए। यो तथ्यांक अघिल्लो दिनको भन्दा ४ हजार ५७६ बढी हो। ९ गतेको परीक्षामा ११ हजार ४२ जना परीक्षार्थी पीसीआर रिपोर्टसहित उपस्थित भए पनि मन्त्रालयको तथ्यांकमा भने त्यो देखिएको छैन। अघिल्लो साताको तुलनामा ११ हजार संख्या बढ्नुपर्नेमा जम्मा साढे चार हजारमात्रै बढेको देखिएको छ।
यदि साउन ८ गतेको १३ हजार ६९८ मा नै विद्यार्थीहरुको तथ्यांक जोडिएको छ भन्ने हो भने जम्मा २ हजारमात्रै अन्य मानिसको परीक्षण गरिएको हो। चिकित्सा शिक्षा आयोगको परीक्षामा सहभागिताका लागि साउन ६ देखि १२ गतेसम्म ३२ हजारभन्दा धेरैले परीक्षण गराएका थिए।
साउन ९ गतेको मन्त्रालयको तथ्यांकअनुसार १० हजार ६२५ जनाले परीक्षण गराएका छन्। साउन १० गते पनि यो तथ्यांकमा खासै फेरबदल देखिएन र १० हजार ५६९ जनाको मात्र परीक्षण भएको रिपोर्ट आयो। साउन १० गतेको परीक्षामा ४ हजार ५२१ जना परीक्षार्थी सहभागी थिए। यसले पनि अघिल्लो दिनको भन्दा कम परीक्षण भएको देखाउँछ। साउन ११ गते भने पीसीआर परीक्षण गर्नेको संख्यामा वृद्धि भएको छ। सरकारको तथ्यांकअनुसार १२ हजार २४० जनाले पीसीआर परीक्षण गरेका छन्। सोही दिन परीक्षा केन्द्रमा पुग्ने विद्यार्थीको संख्या ४ हजार २४० छ।
साउन १२ गते पनि सरकारको तथ्यांक अघिल्लो दिनको भन्दा खासै फरक छैन। १२ हजार ६५५ जनाले पीसीआर परीक्षण गरेका छन्। १२ गतेको परीक्षामा १० हजार ७२ जना विद्यार्थी सहभागी भएका थिए। साउन १२ गतेको परीक्षामा विद्यार्थी संख्या उच्च भएकाले साउन १३ गते मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा केही वृद्धि भएर १५ हजार ८०८ पुगेको छ। १३ गतेको परीक्षामा विद्यार्थी संख्या जम्मा २ हजार ६२३ छ। यसरी हेर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा १२ गतेको परीक्षामा सहभागी भएका विद्यार्थीको पीसीआर रिपोर्टको विवरण १३ गते सार्वजनिक भएको देखिन्छ। उनीहरुले १० र ११ गते नै पीसीआर परीक्षण गरेको हुनुपर्छ।
यसरी हेर्दा पनि ३२ हजार ६६९ जनाले परीक्षा दिँदा गरेको पीसीआर परीक्षणको रिपोर्ट देखिएको भए पनि पछिल्लो ६ दिनमा विद्यार्थी र सर्वसाधारण गरेर जम्मा ६२ हजार ९ सय ४० जनाको मात्रै पीसीआर परीक्षण भएको देखिन्छ। उक्त अवधिमा जम्मा १४ हजार परीक्षण मात्रै बढी देखिएको छ। ६ दिन अगाडिको तथ्यांकमा ४७ हजार ९९२ जना सर्वसाधारणले परीक्षण गरेका थिए। यसरी सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै १३ गते कोरोना परीक्षण गरेका मध्येबाट ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। सरकारले परीक्षणको दायरा बढाएको दाबी गरिरहेको छ। तर, चिकित्सा शिक्षा आयोगको परीक्षामा सहभागी विद्यार्थीले गराएको पीसीआर हेर्दा यो दाबी झुटो देखिन्छ।
साउन पहिलो साता ९ हजारको हाराहारीमा परीक्षण हुँदै आएकोमा दोस्रो साता साढे ११ हजारको हाराहारीमा मात्रै परीक्षण भएको छ। दैनिक साढे दुई हजार जतिमात्रै परीक्षण बढाएको देखिएको छ। एकातिर परीक्षणको संख्या बढेको छैन भने अर्कोतिर दैनिक सार्वजनिक हुने तथ्यांकमा पनि त्रुटि देखिएको छ। कोरोना संक्रमितको दर बढी देखिँदा पनि परीक्षणको तथ्यांक नै गलत सार्वजनिक गर्नुले सरकारी अधिकारीहरुको नियतमा शंका गर्ने ठाउँ छ। यदि मन्त्रालयले अन्य दिनको तुलनामा झैं परीक्षणलाई निरन्तरता दिएको हो भने ६ दिनको अवधिमा १४ हजार विद्यार्थीले मात्र परीक्षण गरेको देखिन्छ। अरु तथ्यांक किन लुकाइयो? वा सरकारको संयन्त्रसम्म नै आइपुगेन?
कोरोना संक्रमणको तेस्रो लहरको आकलन भइरहँदा स्वास्थ्य तथा जनसंख्याले परीक्षणको संख्या घटाएको हो कि तथ्यांक लुकाएको हो भन्ने प्रश्न उब्जेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी अहिले विशेष प्रयोजनका लागि कोरोना परीक्षण गर्नेहरु धेरै रहेको बताउँछन्। विभिन्न शैक्षिक गतिविधिमा सहभागी हुन, वैदेशिक रोजगारीको लागि वा पिसिआर रिपोर्ट अनिवार्य गरिएको ठाउँमा जानको लगि परीक्षण गर्नेहरु धेरै रहेको उनले बताए। ‘यसको अर्थ सरकारले परीक्षणको दायरा बढाएको छैन। सरकारले भनिरहेको भन्दा संक्रमणदर धेरै छ,’ मरासिनी भन्छन्।
देशभरका प्रयोगशालामा हुने पीसीआर परीक्षणको तथ्यांक स्वास्थ्य मन्त्रालयको आपतकालिन कार्यसञ्चालन केन्द्रमा आउँछ। उक्त विवरण मन्त्रालयले जस्ताको तस्तै सार्वजनिक गर्नुपर्ने हो। तर, सरकारी तवरबाटै यसलाई लुकाउन खोजिएको हो वा प्रयोगशालाले नै सत्यतथ्य विवरण पठाउँदैनन् भन्ने विषयमा मन्त्रालयका अधिकारीहरु नै अनभिज्ञ देखिएका छन्।
स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्रले देशभरबाट पीसीआर परीक्षणको तथ्यांक संकलन गर्छ र त्यसलाई स्वास्थ्य मन्त्रालयले दैनिक अपराह्न सार्वजनिक गर्छ। केन्द्रका प्रमुख तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी नै मन्त्रालयले सार्वजनिक गर्ने विवरणमा विश्वस्त छैनन्। ‘प्रयोगशालाबाट आउने विवरणबारे यसै भन्न सकिँदैन। कुन दिनको विवरण कसरी पठाउँछन् यकिन हुँदैन। आइपुग्दा ढिला पनि हुन सक्छ। कहिलेकाहीँ ३-४ दिनको रिपोर्ट एकै दिन सार्वजनिक भएको अवस्था पनि छ। त्यसैले कुन दिनमा परीक्षण भएको रिपोर्ट कहिले आइपुग्यो भन्ने पत्तो हुँदैन,’ अधिकारीले भने।
उनका अनुसार कुनै व्यक्तिले परीक्षणका लागि स्वाब दिएको २४ घण्टाभित्र प्रयोगशालाले सम्बन्धित व्यक्तिलाई रिपोर्ट दिन्छन्। प्रयोगशालाले रिपोर्ट आएको २४ घण्टाभित्र केन्द्रलाई तथ्यांक पठाउनुपर्ने हो। प्रयोगशालाले पठाएको तथ्यांक नै मन्त्रालयले सार्वजनिक गर्छ। तर तथ्यांक पठाउन ढिलो हुँदा मन्त्रालयले सार्वजनिक गर्ने विवरणमा तलमाथि पर्न सक्छ।
‘सुरुका महिनामा तथ्यांक संकलन केही ढिलो हुने भए पनि पछिल्लो समय रिपोर्ट आएको २४ घण्टाभित्रै आउँछ। हामीले त प्रयोगशालाले पठाएको रिपोर्टलाई आधार मानेर विवरण सार्वजनिक गर्छौं। अहिले २४ घण्टाभित्र रिपोर्ट पठाउन भनेका छौं। पठाएका पनि छन्,’ सहप्रवक्ता अधिकारीले दाबी गरे।
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको प्रयोगशालाका प्रमुख परमानन्द भण्डारीका अनुसार कुनै व्यक्तिको परीक्षणको रिपोर्ट आइसकेपछि पोजेटिभ आए त्यसको जानकारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई दिइन्छ। साथै पोजेटिभ र नेगेटिभ दुवै रिपोर्टको तथ्यांक मन्त्रालयको सूचना प्रणालीमा इन्ट्री गरिन्छ। मन्त्रालयले सोही विवरण सार्वजनिक गर्छ।
यो खबर ज्योति अधिकारी/विपिन हरियाली ले नेपाल समयमा लेखेका छन् ।