पाँचथर । फिदिम नगरपालिका–४ की एक महिलाले आफ्नै श्रीमानविरुद्ध सहमति बिना जबरजस्ती यौन सम्बन्ध कायम गरेको उजुरी दिएपछि प्रहरीले २७ वर्षीय युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार प्रहरीमा दर्ता गरिएको जाहेरीमा पतिले मादक पदार्थ सेवन गर्ने, बारम्बार झगडा गर्ने, कुटपिट गर्ने र यौन क्रियाकलापका लागि पत्नीको अनुमति नलिई बलपूर्वक सम्बन्ध कायम गर्ने गरेको उल्लेख छ। यसलाई कानुनमा “वैवाहिक बलात्कार” भनिन्छ, जसको अर्थ विवाह भइसकेको अवस्थामा पनि पत्नीको इच्छा विपरीत जबरजस्ती यौन सम्बन्ध राख्नु हो।
भाडामा बस्दै आएका ती दम्पतीको एक अढाइ वर्षीया छोरी समेत छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी कौशल बुडाथोकीका अनुसार पक्राउ परेका युवकलाई हाल हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ अनुसार, वैवाहिक सम्बन्ध कायम रहँदा पतिले पत्नीसँग सहमति बिना जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद सजायको व्यवस्था छ।