पाँचथर । गत बिहिबार फालेलुङ ५ डाँडागाउँमा बम विस्फोट हुँदा घाइते भएका दुई जना बालकलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । घाइते पवन राई र दिप्सन राईलाई काठमाडौंको बर्न हस्पिटलमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी हेमन्त भण्डारीले बताए ।
भदौ १३ गते भएको विस्फोटमा परी घाइते भएका पवनलाई गत शुक्रबार र दिप्सनलाई शनिबार पाँचथर अस्पतालबाट कोशी अस्पताल विराटनगरमा थप उपचारका लागि पठाइएको थियो । अविभावकले उपचारको प्रक्रिया पूरा नगरी पाँचथर नै फर्काएपछि पवनको घाउमा संक्रमण देखिएको भन्दै जिल्ला अस्पतालका चिकित्सकले सुविधासम्पन्न अस्पताल लैजान दिएको सुझाब अनुुसार उनिहरुलाई थप उपचारका लागि पठाइएको हो ।
गत बिहिबार दिउसो पाँचथरको फालेलुङ ५मा बम पड्किंदा दिलिप साँबाको २ वर्षीय छोरी पिन्शा सावाँ र ११ वर्षीय दिपशन साँवा मृत्यु भएको थियो । पिन्शा र दिप्शन सावाँको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभए पछि सुविधा सम्पन्न अस्पतलालमा रेफर गरिएको थियो । पिन्शा साँवाको बिहिबार राति १० बजे इलाम पुग्दै बाटोमा निधन भएको थियो दिप्शन साँवाको बिहिबार राति झापाको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको थियो ।