पाँचथर । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा हुने इलाम गोल्डकपको दोस्रो संस्करण आउँदो मंसिरमा सञ्चालन गरिने भएको छ । इलामको ठूलो टुँडिखेलमा मंसिर २२ देखि २९ सम्म प्रतियोगिता आयोजना गरिने आयोजक रेडहर्स फुटबल क्लबले जनाएको छ ।
इलाम गोल्डकपको दोश्रो संस्करण मेचि पहाडकै सबै भन्दा ठुलो प्रतियोगिता बन्ने भएको छ । मेचि पहाडमा हुने गोल्डकप प्रतियोगिताहरु मध्ये इलाम गोल्डकप पुरस्कार राशिको हिसाबले सबैभन्दा ठुलो प्रतियोगिता बन्ने छ । छिमेकी जिल्ला पाँचथर र ताप्लेजुङमा हुने बिभिन्न गोल्डकपहरुको पुरस्कार राशि ५ लाख भन्दा केहि धेरै मात्र हुने गरेको छ ।
आयोजकले दोश्रो संस्करण लाई भब्य बनाउन यसपटक पुरस्कार राशि दोब्बर बनाएका छन् । पहिलो संस्करणमा बिजेतालाइ ५ लाख पुरस्कार राशि रहेको थियो । यसपटक विजेताले नगद १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । बुधबार इलामामा पत्रकार सम्मेलन मार्फत आयोजकले प्रतियोगिताको जानकाी दिएका हुन् । क्लबका अध्यक्ष साङ्गे योल्मोले प्रतियोगिताका लागि तयारी सुरु भएको जानकारी दिए । गोल्डकपको आधारभुत तयारीहरु क्लबले सुरु गरेको योल्मोले जानकारी दिए । मैदान र आर्थिक सहयोगसहितका काम सुरु भएको उनले जानकारी दिए ।
दोश्रो संस्करणको इलाम गोल्डकपमा ए डिभिजनका क्लबहरु सहित आठ टिम सहभागि गराउने तयारी क्लब छ । आयोजकले पत्रकार सम्मेलनमा प्रतियोगितामा सहभागी हुने सम्भावित आठ टिमको नामसमेत सार्वजनिक गरेका हुन् । सहभागी हुने टिममा न्युरोड टिम (एनआरटी), मच्छिन्द्र, थ्रिस्टार, संकटा, त्रिभुवन आर्मी, बिर्तामोड युनाइटेड, अफ्रिकन क्लब दाउफिन्स र आयोजक रेडहर्स फुटबल क्लब छन् ।
प्रतियोगितामा ७८ लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजक समितिका निरोज खड्गीले जानकारी दिए । आयोजकले मुख्य प्रायोजकबाट २० लाख रुपैयाँ र तथा गेटमनीबाट १८ लाख रुपैयाँ आम्दानी गर्ने तयारी गरेको छ ।
पहिलो संस्करणमा एनआरटीले उपाधि जितेको थियो ।