पाँचथर । राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले अपेक्षाअनुरूप काम गर्न नसकेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि राष्ट्रव्यापी दबाब अभियान गर्दै छ । आइतबारदेखि दुई महिनासम्म सञ्चालन हुने दबाब अभियानको सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्ची बजारबाट उद्घाटन गर्दै छन् ।
राष्ट्रिय राजनीतिमा पकड राख्नसक्ने पूर्वनेता स्व. सुवास नेम्वाङ तथा वसन्त नेम्वाङ र कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेको निर्वाचन क्षेत्रमा पर्ने राँके–रवि–भेडेटार सडक खण्डमा पनि रास्वपाको दबाब अभियान रहेकाे रास्वापाले जनाएकाे छ । राँके–रवि–भेडेटार सडक खण्डकाे दबाब अभियानकाे मिति भने तय भइनसकेकाे जनाएकाे छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारत सरकारले यो सडक निर्माणमा सहुलीयतपूर्ण ऋण दिने घोषणा गरेको थियो । सोही घोषणाअनुसार २०७५ साल पुस ३ गतेबाट यो सडक निर्माण सुरु भयो । भारतको एक्जिम बैंकले सहुलियतपूर्ण ऋण निकासा गर्ने भएकाले भारतकै एप्को इन्फ्राटेक प्रालिले सडक निर्माणको ठेक्का पाएको थियो ।
तर उक्त भारतीय निर्माण कम्पनीले निर्माणको जिम्मेवारी दिएको भारतकै अभिषेक बिल्डर्स नामक कम्पनीले करिब चार वर्ष सडक निर्माणलाई गति दिन सकेन । भेडेटार–रवि–राँके सडक निर्माणकार्यले पछिल्ला दिनमा गति लिएको छ । धनकुटा, इलाम र पाँचथरलाई जोड्ने १०१ किलोमिटर लामो सडक निर्माण ढिला हुँदै आएकाे छ ।
रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ रास्वपाले राष्ट्रव्यापी दबाब अभियान सञ्चालन गर्न लागेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनका अनुसार २१ आयोजनामा २० सांसद र महामन्त्री मुकुल ढकालको नेतृत्वमा २१ वटा दबाब यात्रा हुँदै छन् ।
मेलम्ची खानेपानी आयोजनाको काम यथाशीघ्र सम्पन्न गर्न माग गर्दै रास्वपाले अभियानको प्रारम्भ गर्न लागेको हो । रास्वपाका अनुसार सिन्धुपाल्चोक–काठमाडौँ दबाब यात्राको नेतृत्व भने सांसद सोभिता गौतमले गर्दै छिन् ।
सभापति लामिछानेले भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्ने कार्यक्रम छ । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ आयोजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ ।