इलाम । इलाममा प्रथम इलाम गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । रेडहर्स फुटबल क्लब इलामको आयोजनामा आउँदो माघ ६ देखि १३ सम्म ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता भएको छ। यस अघि नै पत्रकार सम्मेलन मार्फत फागुन-चैतमा आयोजना गर्ने घोषणा गरिएको ‘माइभ्याली गोल्डकप’ भने केही समयलाई स्थगित गरिएको छ ।
इलामको ठुलो टुँडिखेलमा हुने प्रथम इलाम गोल्डकपमा नेपाल र देशबाहिरका गरी आठ टिम सहभागी हुनेछन् । आयोजकले सोमबार सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी इलाम गोल्डकपबारे जानकारी दिएको छ। प्रतियोगितामा आयोजकसहित ए डिभिजन लिग बितेता चर्च ब्वाइज, एनआरटी, झापा, सुनसरी लगायता टिम सहभागी हुने आयोजकले जनाएका छन् । आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुने केही टिमको टुंगो लाग्न बाँकी नै छ।
विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन्। विधागत उत्कृष्ट खेलाडीको पुरस्कार भने तय हुन बाँकी नै रहेको उनले जनाए। रेडहर्स अध्यक्ष सांगे लामाले ५० लाख रुपैयाँभन्दा माथि खर्च हुने प्रतियोगिताको तयारी धमाधम भइरहेको जनाए।
यसअघि फागुन २४ देखि चैत ३ सम्म यही टुँडिखेलमा माइभ्याली गोल्डकप आयोजनाको घोषणा गरिएको थियो। तर, माइभ्याली फुटबल क्लब र रेडहर्सबीच भएको सहमतिअनुसार माइभ्याली गोल्डकपलाई केही समय स्थगित गरिएको छ।