ताप्लेजुङ । प्रहरी र प्रदेश सांसद खगेन सिं हाङगामको समूहबीच भएको विवादका कारण शुक्रबार बिहानैदेखि ताप्लेजुङमा यातायातका साधन चलेका छैनन् । सांसदमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै कांग्रेस कार्यकर्ताले यातायात बन्द गराएका छन् । आकस्मिक बन्दले जिल्लाबाहिर जाने तयारीमा रहेका र जिल्ला भित्रनेहरू समस्यामा परेका छन् ।
बिहीबार बेलुका प्रहरी र सांसदको समूहबीच विवाद भएको थियो । ललितपुर घर भएका कांग्रेस कार्यकर्ता पेमा लामालाई प्रहरीले कुटपिट गरेपछि सांसद हाङगामले किन कुटपिट भयो भनेर बुझ्ने क्रममा प्रहरी र सांसद हाङगामबीच विवाद भएको हाङगामको सचिवालय सदस्य विश्वराज नाल्वोले दाबी गरे । सुकेटारबाट फर्किएका लामा र प्रहरीबीच मिनी मेलाको छेउमा विवाद भएको उनले बताए ।
प्रहरीले भने सांसदको समूहले प्रहरीको हतियार खोस्न खोजेपछि विवाद भएको जनाएको छ । प्रहरीलाई हातपात गर्ने, लखेट्ने र हतियार खोस्नेजस्ता हर्कत गरेपछि विवाद भएको प्रहरी नायव उपरीक्षक राजन लिम्बूले बताए । यता नाल्वोले भने प्रहरीले सांसदको निवासमा आक्रमण गर्ने, ढुङ्गामुढा गर्ने, अश्लील शब्द प्रयोग गर्नेजस्ता कार्य गरेको बताए । घटनामा संलग्न प्रहरीलाई निलम्बन गर्नुपर्ने, शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग हाङगामको समूहले गरेको छ । उनीहरूले इन्स्पेक्टर, असई र हवल्दारलाई कारबाही गर्नुपर्ने बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले घटनाको खास विवरण बुझ्ने काम भइरहेको बताइन् । ‘प्रहरीले कमजोरी गरेको भए प्रकृयाअनुसार कारबाही हुन्छ,’ चेम्जोङले भनिन्, ‘बन्द गरिहाल्नु राम्रो होइन ।’