ताप्लेजुङकाे फक्ताङलुङ गाउँपालिकाका झन्डै चार सय स्थानीय १२ दिनसम्म श्रमदानमा खटिए । बाटो बनाउन, पुल बनाउन वा कुनै पहरो फोर्न नभएर सेकाथुम बस्तीमाथिको लंवाडाँडामा ठडिएको टावरमा फोरजी उपकरण जडानका लागि उनीहरू स्वतःस्फूर्त श्रमदानमा खटिएका हुन् ।
सदरमुकाम रहेको फुङलिङ नगरपालिका र चीनको तिब्बतसँग सिमाना जोडिएको गाउँपालिकामा कम जनसंख्या र ठूलो भूगोल भएकाले विकासका संरचना पुर्याउन सहज छैन । जिल्लाका ६१ वडामध्ये सदरमुकाम फुङलिङबाट सडकले नजोडिएको फक्ताङलुङ–७ ओलाङचुङगोलामात्रै हो । टुजीका भरमा गाउँमा इन्टरनेट राम्रोसँग चल्दैनथ्यो ।
फोरजी सञ्चालनपछि लेलेप, सेकाथुप, हेल्लोक, लावाजिन, टाँसीगाउँ, तापेथोक क्षेत्रका स्थानीयले घरमै बसेर फोरजी इन्टरनेटको सुविधा लिन सक्नेछन् । फोरजी सुरु भएपछि घरमै बसीबसी मोबाइलमा इन्टरनेट चलाउन पाइन्छ भन्ने सुनेपछि हौसिएर श्रमदानमा खटिएको फक्ताङलुङ गाउँपालिका–६ लेलेप सेकाथुमका ग्याजु शेर्पाले बताए । ‘टावर ठड्याउन आवश्यक सामान डोकोमै बोकेर अरू बेला साढे तीन घण्टामा छिचोलिने उकालो कटाउन पाँच घण्टासम्म लाग्यो,’ उनले भने, ‘साँघुरो बाटोमा कतिपय ठाउँमा त हातैले टेकेर हिँड्नुपर्यो ।’
डेढ महिनाअघि उनीजस्तै स्थानीयले श्रमदान गरेका कारण बुधबारदेखि फक्ताङलुङका स्थानीयले मोबाइलमा फोरजी चलाउन पाएका छन् । गाउँपालिका अध्यक्ष राजन लिम्बू र उपाध्यक्ष विकास साम्राका अनुसार ठूलो भूगोल भए पनि फक्ताङलुङ अत्यन्तै दुर्गम छ । यहाँको घुन्सा, फले, ग्याब्ला, याङमाजस्ता बस्तीमा अझै सडक पुगेको छैन । यो गाउँपालिका कति विकट छ भने गाउँपालिकाको केन्द्र तापेथोकबाट दुई दिन र सदरमुकाम फुङलिङबाट तीन दिनको पैदल दूरीमा छ । याङमामा अझै सञ्चार सुविधा छैन ।
गाउँपालिका अध्यक्ष लिम्बूले टेलिफोन टावर भएका सबै ठाउँमा फोरजी पुर्याउन पहल भइरहेको बताए । यस गाउँपालिकामा ५ वटा टावर रहेकामा दुई ठाउँमा फोरजी जडान गरिएको छ । गाउँपालिकाका अनुसार सदरमुकामसम्म टेलिकम आफैंले सामान पुर्याएको थियो । त्यहाँबाट मोटरबाटो पुग्ने ठाउँसम्म गाउँपालिकाले ट्र्याक्टरमा ती सामान ओसारेको थियो । मोटरबाटो नभएका ठाउँमा भने जनप्रतिनिधि र उपभोक्ताले श्रमदान गरेका थिए ।
काठमाडौंमा पढ्न बसेको छोरासँग टेलिफोनमा मात्रै बोल्दै आएकी टाँसी गाउँकी दावा फुटीलाई फोरजी सेवा सुरु भएको खबरले खुसी तुल्याएको छ । ‘अब त हाम्रोमा पनि इन्टरनेट आउने भयो,’ उनले भनिन्, ‘अब त छोराछोरीसँग हेरेरै कुरा गर्न मिल्ने भो ।’
अध्यक्ष लिम्बूले गाउँपालिकाको केन्द्र तापेथोकलाई समेत समेट्ने गरी मुरिङलामा रहेको टेलिकमको टावरमा अहिलेसम्म टुजी मात्रै रहेको बताए । अब त्यहाँ पनि असोज महिनासम्ममा फोरजी जोड्न पहल भइरहेको उनले सुनाए । नेपाल टेलिकम ताप्लेजुङका अनुसार जिल्लाभरिका ३० मध्ये २३ वटा टावरमा फोरजी जडान भइसकेको छ ।