पाँचथर । फिदिम -१० याङनाममा जारी प्रथम याङनाम गोल्डकप प्रतियोगितमा सोमबार भएका खेलहरु जित्दै जिल्ला प्रहरी कार्यालय पाँचथर र फिदिम १३ को शान्तिदीप युवा कलब प्रथम याङनाम गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सोमबार इमानसिं रंगशालामा भएको खेलमा मनापजुम यलम्बर युवा क्लब फिदिम ११ लाई पराजित गर्दै प्रहरी टोलीले क्वाटरफाइनलमा स्थान बनाएको हो । प्रहरीले ३-० गोलअन्तरमा मनापजुमलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । प्रहरीका लागि सन्तोष रम्तेलले २ गोल गरे भने थप गोल जसहाङ लिम्बूले गोल गरेका थिए । खेलको १९औँ मिनेटमा प्रहरीका लागि सन्तोष रम्तेलले गोल गर्दै अग्रता दिलाएका थिए ।
उनैले २४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै प्रहरीका लागि अग्रता दोब्बर बनाएका हुन् । पहिलो हाफकै ३०औँ मिनेटमा जसहाङ लिम्बूले थप गोल गरेर ३-० गोलको अग्रता दिलाएका हुन् । दोस्रो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेन । खेलको म्यान अफ दी म्याच प्रहरीका मनोज सुब्बा घोषित भए । उनले नगद एक हजार प्राप्त गरे ।
यसैगरी, पहिलो खेलमा शान्तिदीप युवा क्लबले वाकओभर पाउँदै क्वाटरफाइनलमा प्रवेश पाएको हो । स्पर्धी याङवरकको नुमाफुङ युवा क्लब थर्पु अनुपस्थित भएपछि खेल नियमानुसार आयोजक याङनाम फुटबल क्लबले शान्तिदीपलाई वाकओभर दिएको हो । १२ टिम सहभागी गोल्डकपको फाइनल खेल बैशाख २ गते हुनेछ । विजेता टोलीले नगद १ लाख १ हजार १०१ र ट्रफी पाउने छ भने उपविजेताले नगद ५० हजार ५०५ मा चित्त बुझाउने छ ।
मंगलबार पनि दुई वटा खेल हुनेछन् । पहिलो खेल ब्वाइज युनियन क्लब फालेलुङले हिलिहाङको सिर्जना युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा कुम्मायक गाउँपालिकाको टिम र आनिसाक्थिम युवा क्लब वसुमसँग प्रतिस्पर्धा गर्ने छन् ।