काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका निवर्तमान उप–प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने गत आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता लिएर तत्कालै गृह मन्त्रालयमा फर्कन खोजे । प्रधानमन्त्री पुष्पकमल दाहालले लामिछानेलाई तत्काल जिम्मेवारी दिन आनाकानी गर्दै आएका छन् ।
माओवादी केन्द्रका कतिपय नेताहरूले उनीमाथिको राहदानी दुरुपयोगको जाहेरी प्रहरीमा पुगेकाले उनलाई मन्त्रालय दिन नसकिने बताएका छन् । उनी विरुद्ध पेश भएको जाहेरी प्रहरीले दर्ता नगरी फर्काएको छ, तर वैकल्पिक उपायबाट दर्ता भएमा उनलाई राजनीतिक रूपमा नै संकट पर्ने देखिन्छ ।
राहदानी दुरुपयोगको जाहेरी अलि गम्भीर प्रकृतिकै देखियो, प्रहरीले दर्ता नगरेकै कारण जाहेरी रोकिंदैन, सरकारी वकिलको कार्यालयमा पेश गरेर वा हुलाक मार्फत पनि दर्ता हुनसक्छ’ महान्यायाधिवक्ता कार्यालय स्रोतले भन्यो, ‘अलि गम्भीर प्रकृतिको यो मुद्दा अघि बढेमा लामिछानेलाई थप कठिनाइ हुने देखिन्छ ।’
पासपोर्ट सम्बन्धी व्यवस्थालाई नियमन गर्न पछिल्लो पटक २०७६ सालमा राहदानी ऐन जारी भएको छ । तर, लामिछानेले २०७३ सालमा अमेरिकाको नागरिकता कायम भएको बेला आफू नेपाली नागरिक रहेको भनी गलत विवरण पेश गरी त्यसका आधारमा पासपोर्ट लिएकाले उनको हकमा पुरानो राहदानी ऐन, २०२४ आकर्षित हुने एक सरकारी वकिलले बताए ।