पाँचथर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश १ को महिला फुटबल टोलीको घोषणा भएको छ । खेलकुद विकास बोर्ड प्रदेश १ ले शुक्रबार गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश टोलीको घोषणा गरेको हो । प्रदेश नम्बर एककाे टिममा पाँचथरबाट एक जना मात्र पर्न सफल भएकी छन् ।
पाँचथरबाट प्रबिना कालीकाेटे प्रदेश १ महिला फुटबल टोलीमा पर्न सफल भएकी हुन् । प्रबिना हिलिहाङ गाउँपालिकाकी हुन् । बोर्डले २० सदस्यीय प्रदेश टोली घोषणा गर्दा झापाका ४ जना महिला खेलाडी छनोट भएका हुन् । झापासँगै सर्वाधिक धनकुटाका ४ जना खेलाडी पनि छनोटमा परेको बोर्डकी उपाध्यक्ष जिना कार्कीले जानकारी दिइन् । टोलीमा झापा र धनकुटाका समान ४-४ जना खेलाडी छनोट भएका छन् ।
झापाबाट छनोट हुनेमा सुस्मिता चौधरी, छत्रिका चौधरी, ममता राउत र लक्ष्मी श्रेष्ठ छन् भने धनकुटाबाट निशा थुलङ, अन्जना थुलुङ, तीर्थकुमारी लिम्बू र अनिता गुरुङले प्रदेशको प्रतिनिधित्व गर्ने छन् । झापाबाट ममता र लक्ष्मी फरवार्ड तथा छत्रिका र सुस्मिता डिफेन्डर हुन् ।
त्यस्तै, मोरङबाट कल्पना कार्की, केरोन लिम्बू र सन्जु तामाङ टोलीमा परेका छन् । सुनसरीबाट प्रतिक्षा राई, जिना बिस्ट र आशिका बोहोरा छानिएका छन् । ताप्लेजुङबाट अनुसा थेबे र अनुसा लिम्बू, सोलुखुम्बुबाट झरना राई, उदयपुरबाट चुम्लुङ्गमा राई, पाँचथरबाट प्रविना कालिकोटे र इलामबाट जेनिफर रमा छनोट भएको उपाध्यक्ष कार्कीले जनाइन् ।