ताप्लेजुङ – जिल्ला अस्पताल ताप्लेजुङमा जनशक्ति, उपकरण र पूर्वाधार व्यवस्थापन नहुँदा बिरामीले सास्ती खेप्नुपरेको छ । बिरामीको चाप बढ्दै गएपछि उपलब्ध जनशक्ति र उपकरणबाट सेवा दिन समस्या भएको छ ।
अस्पतालबाट सेवा लिन सास्ती
जिल्ला अस्पतालबाट उपचार सेवा लिन सास्ती भएपछि बिरामीहरू झापा, धरान, विराटनगरलगायतका ठाउँ जानुपर्ने बाध्यता छ । सेवा लिन आउने बिरामीको अनुपातमा जनशक्तिसँगै पूर्वाधार अभाव हुँदा अपेक्षित सेवा प्रवाह गर्न गाह्रो भएको जिल्ला अस्पताल ताप्लेजुङका सूचना अधिकारी विजया राईले बताए ।
गुणस्तरीय सेवा दिन अस्पताल प्रतिबद्ध रहेको र अहिले भने डाक्टर र विभिन्न फाँटमा स्वास्थ्यकर्मीको अभावका कारण सेवा दिन समस्या भएको उनकाे भनाइ छ ।
बिरामीको चाप बढ्दै
बर्सेनि बिरामीको चाप बढ्ने गएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ । २०७९ असार १५ देखि साउन १५ गतेसम्ममा अस्पतालबाट दुई हजार जनाभन्दा धेरै बिरामीले उपचार सेवा लिएका थिए । अघिल्लो वर्षको तुलनामा यो वर्ष असार–साउन महिनामा मात्र पाँच सय जनाभन्दा धेरै बिरामीले सेवा लिएका छन् ।
जिल्लाका नागरिकमा स्वास्थ्य जाँच गराउनुपर्छ भन्ने चेतना बढ्दै गएको, स्वास्थ्य बीमा कार्यक्रमको प्रभावलगायतले चाप बढेको अस्पतालको बुझाइ छ । बिरामीको चाप बढ्दै गए पनि शय्या नथपिँदा र स्वास्थ्यकर्मी नहुँदा जिल्ला अस्पतालको बेहाल भएको सूचना अधिकारी राईले बताए ।
बिरामीलाई उपचार दिन नसकेर बाहिरी जिल्लामा रेफर गर्नुपर्ने बाध्यता छ । स्वीकृत शय्या सङ्ख्या १५ मात्रै भए पनि अस्पतालले अन्य २० सिट थप गरी ३५ शय्या सञ्चालन गर्दै आइरहेको छ । तर ती शय्या र अन्य सुविधा दिनका लागि जनशक्ति नहुँदा समस्या भएको छ ।
जनशक्ति अभाव
अस्पतालमा स्थायी चिकित्सक दुई जना हुनुपर्नेमा अहिले दुवै जनाको दरबन्दी रिक्त छ । एक जना चिकित्सक नवौँ वा दशौँ तह तथा एक जना आठौंँ तहको चिकित्सक हुुनुपर्ने भए पनि अहिले दरबन्दी खाली छ ।
छात्रवृत्ति करारतर्फ दुई जना डाक्टर भए पनि एक जना तालिमका लागि जिल्लाबाहिर गएकाले एक जना मात्र । एनएसआई करारतर्फ एक जना डाक्टर छन् ।
इन्डोर, बच्चा वार्ड, नवजात शिशु, डेलिभरी, शल्यक्रियालगायतका फाँटमा स्टाफ नर्स, अनमी गरेर अहिले १० जनाले मात्र काम गरिरहेका छन् । नियमअनुसार आठ घण्टाको डिउटी भए पनि अहिले १२ घण्टाको डिउटी गर्नुपरेको अनमी मनकुमारी कार्कीले बताउनुभयो ।
अस्पतालमा चिकित्सकबाहेक अहिले स्टाफ नर्स, अनमी, ल्याब असिस्टेन्ट, काउन्टरलगायत सबै फाँटमा गरी ३० जना कर्मचारी छन् । सूचना अधिकारी राईका अनुसार अस्पतालका सबै फाँटमा गरी ७० जना कर्मचारी चाहिन्छ ।
शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द
अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने जनशक्ति नहुँदा गर्भवतीलाई जिल्लाबाहिर पठाउनुपर्ने बाध्यता छ । एक जना डाक्टर भए पनि अन्य जनशक्ति अभावले गर्दा शल्यक्रिया सेवा दिन नसकेको अस्पतालले जनाएको छ ।
कतिपय गर्भवती निकै गम्भीर अवस्थामा पुगेपछि अस्पताल आउँदा टाढा रहेको पाँचथर पठाउन समस्या हुने भएकाले जोखिम मोलेरै सुत्केरी गराउनुपरेको सूचना अधिकारी राईले बताए ।
अस्पतालको आईसीयू अहिलेसम्म स्थापना भएन
कोभिड–१९ लाई मध्यनजर गरेर एक वर्ष अगाडि जिल्ला अस्पताल ताप्लेजुङलाई दिइएको सघन उपचार कक्ष आईसीयू का लागि चाहिने उपकरणहरू केही धुलोले पुरिएको छ भने केही जडान गरिए पनि प्रयोगविहीन बनेका छन् ।
आईसीयूसहितको उपचारका लागि जिल्ला अस्पताललाई पाँच शय्या सञ्चालन गर्न सरकारले अनुदान दिएको थियो । तर ती शय्या अस्पतालको गोदाममा थन्किएको छ । अर्थिक वर्ष २०७७÷०७८ मा सरकारले आईसीयू सञ्चालनका लागि अस्पताललाई एक करोड आठ लाख ६ सय १४ रुपैयाँ अनुदान दिएको थियो । तर जनशक्ति अभाव तथा आईसीयू कोठासमेत नभएकाले अहिलेसम्म स्थापना हुन सकेको छैन ।
ujjyalo