काठमाडौँ ।नेपालमा बस्दै आएका एकजना चिनियाँ नागरिक चुङ याङयाङको अपहरणका लागि प्रहरीकै पेस्तोल प्रयोग भएको खुलेको छ।ती चिनियाँ नागरिकलाई अपहरण गर्ने क्रममा उच्च अदालत पाटनको एकजना न्यायाधीशका पीएसओ ३७ वर्षीय हवलदार कर्ण गुरुङले बोक्दै आएको सरकारी पेस्तोल देखाएर अपहरण गरेको खुलेको हो।
प्रहरीले चिनियाँ नागरिकको अपहरणमा संलग्न भएको अभियोगमा हवलदार गुरुङ र महानगरीय प्रहरी बृत्त बालाजुका घुमुवा २८ वर्षीय शिव सुनुवारलाई पनि पक्राउ गरेको छ।
चिनियाँ नागरिक अपहरण प्रकरणमा दुईजना प्रहरीसँगै पक्राउ पर्नेहरुमा २८ वर्षीय लक्ष्मण गुरुङ, २९ वर्षीय रोहित मगर, २८ वर्षीय विशाल मगर र २७ वर्षीय विनोद केसी रहेका छन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकृतका अनुसार यी दुईजना प्रहरीसहित अन्य चारजना मिलेर ती चिनियाँलाई अपहरण गरि मित्रनगरस्थित प्युठान होटल एन्ड लजमा बन्धक बनाएका थिए।
ती चिनियाँको अपहरणका लागि प्रयोग गरिएको गुरुङले बोक्ने गरेको पेस्तोल पनि प्रहरीले बरामद गरेको छ।उक्त होटलमा चिनियाँ नागरिकलाई बन्धक बनाएका दुई प्रहरीसहितका उनीहरूले १ करोड रूपैयाँ फिरौती बार्गेनिङ गरेका थिए। तर चिनियाँ नागरिकका आफन्त ५० लाख रूपैयाँ दिन तयार भएका थिए। बार्गेनिङपछि फिरौती रकम लिन आएका बेला बिजी मलअगाडिबाट उनहरू प्रहरीको फन्दामा परेका हुन्।
नेपालखबरबाट