इटहरी । इटहरीमा २० वर्षीय युवकको हत्या गरी फरार रहेका घटनाका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काका अनुसार गत जेठ ५ गते रातको समयमा हत्याको घटना भएपनि मुख्य योजनाकार फरार रहँदै आएका थिए । इटहरी ४ स्थित बूढीखोला नजिकै सोही स्थानका २० वर्षीय सुमन तामाङको हत्या भएको थियो ।
हत्यामा संलग्न सुशील राई, अनिष भनिने राज मगर, बबीनारायण चौधरी, बिर्ख भनिनेर डम्बरबहादुर भुजेल र अर्जुन बिकले इट्टाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरी निरीक्षक खड्काले जनाए । उनका अनुसार इटहरी ४ गैरीगाउँ बस्ने २८ वर्षीय बिर्ख भनिने डम्बरबहादुर भुजेल तत्काल फरार रहेकाले खोजतलास गर्ने क्रममा साउन १३ गते गाउँघरबाटै प्रहरीले पक्राउ गरेको हो ।
अन्यलाई भने यसअघि नै पक्राउ गरी पूर्पक्षमा कारागार चलान गरिएको छ । पक्राउ परेका भुजेल मुख्य योजनाकार रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भुजेललाई आइतबार जिल्ला अदालत सुनसरीमा हाजिर गराएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
घटनाको यकिन कारण नखुलेकाले प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।