शनिश्चरे । अर्जुनधारा नगरपालिका क्षेत्रमा स्कुल गएका नानीहरुको सुन लट्ने कार्यमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । दुई छुट्टाछुट्टै विद्यालयका नानीहरुले कानमा लगाएको गहना लुट्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरू छिमेकी हुन् ।
पक्राउ पर्नेमा अर्जुनधारा ७ बस्ने सुनिल मण्डल र नितेश माले रहेका छन् । उनीहरुलाई शनिश्चरे प्रहरी चौकीको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार अर्जुनधारा ८ को शनिश्चरे माध्यमिक विद्यालयको प्रांगणभित्र र अर्जुनधारा ४ स्थित मुख्य सडकमा विद्यार्थीको कानको मुन्द्रा लुटिएको थियो ।
असार २४ गते शनिश्चरे माविमा दुई बालिकाले लगाएको कानको मुन्द्रा लुटिएको थियो । अर्जुनधारा ५ कञ्चनबारी बस्ने रोशन परियारकी छोरी दीपा परियार र अर्जुनधारा ८ बस्ने सविन खड्काकी छोरी दिपिका खड्काको ८ लाल सुनको गहना लुटिएको थियो ।
लगत्तै, ४ दिनपछि अर्जुनधारा ४ स्थित सूर्यज्योति स्कुलबाट परीक्षा दिएर फर्किंदै गरेकी हेमन्ता बस्नेतकी ५ वर्षीया छोरी युवराज्ञीले कानमा लगाएको ४ आना ३ लाल सुनको मुन्द्री लुटिएको थियो । घटनामा २ जना किशोरले मोटरसाइकलमा आएर लुटेको प्रहरीलाई जानकारी दिएका थिए ।
शनिश्चरे माविको घटनालाई लिएर प्रहरी चौकीका इन्चार्ज रवि राईले अनुसन्धान थालेका थिए । घटनामा संलग्न भएको आशंकामा मण्डललाई निगरानीमा राखे पनि वास्तविकता खुल्न सकेको थिएन । तर, असार २४ गते बिहान मण्डल विद्यालय हाताभित्र प्रवेश गरेको सर्वत्रबाट जानकारी आएको प्रहरीले जनाएको छ ।
शनिश्चरे माविको घटना सेलाउन नपाउँदै असार २७ गते फेरि नानीहरुले लगाएको कानको मुन्द्रा लुटिएको खबरले अर्जुनधारामा सनसनी मच्चियो । साना नानीहरुको भनाइका आधारमा मण्डललाई प्रहरीले निगरानीमा राखेको थियो ।
दुवै घटनामा मण्डलको संलग्नता हुनसक्ने निश्कर्ष निकालेपछि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धानलाई तिव्रता दिएको प्रहरी भनाइ छ । प्रहरीले आरोपी मण्डललाई घरैबाट नियन्त्रणमा लिएको थियो । १७ वर्षीय मालेलाई भने प्रहरीले बिहीबार पक्रेको हो ।
शनिश्चरे माविको घटनामा मण्डलको मात्र संलग्नता भएको र अर्जुनधारा ४ का घटनामा चाहिँ दुवै जनाको संलग्नता रहेको स्वीकारेका छन् । उनीहरुले प्रयोग गरेको एक थान मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबीच, दुवै घटनामा संलग्न व्यक्तिले लुटेको सुनका गहना बिक्री गर्न सहयोग गर्ने थप एक व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा १० का २२ वर्षीय मनोज सुन्दास रहेका छन् ।
उनले चोरिएको सुनका गहना बिर्तामोडको एक सुन पसलमा बिक्री गरेका थिए । घटनामा संलग्न तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।