लक्ष्मण लावती ।
पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजारको दुई किलोमिटर पश्चीम मेची राजमार्गमा अवस्थित जोरसालबजार धेरै पुरानो हाट बजार मानिन्छ । नेपालको पूर्वी भेग पहाडतिर हाट बजार लाग्ने प्रचलन कहिलेबाट सुरु भएको भन्ने बारे यकिन नभएपनि लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह २०७७ ( भगीराज इङनाम) र दस लिम्बुवान सत्रथुमको निती २०७८ (लक्ष्मण लावती र अर्जुन मावुहाङ) नामक पुस्तक वि.सं. १९५६ सालको कस्यरुक्कामा केहि हाट बजारको नाम सहित तिब्बतबाट भोटेहरुले गडखौले नुनल्याई यहाँबाट खयरको लाहा र नुन साट्ने स्थानहरुमा हाट बजार लाग्ने गरेको उल्लेख छ । खयरको बोट जहाँकहि हुँदैन । जोरसालबजार आसपास खयर प्रसस्तै पाउने हुनाले भोटेहरु पछिसम्म नुनसँग यहि खयरको लाहा र नुन साटन् जोरसाल वजारमा देखा परिरहन्थे । खयरको लाहा र नुन साटने क्रममा जोरसाल बजारको उदयभएको हुनुपर्छ । जोरसालबजार धेरै अघिदेखि सुम्हात्लुङ आसपास बसोबास गर्नेहरुको समाधिस्थल (चिहानघारी ) भएपनि उ बेलाको धेरैवटा बाटोहरुको संगमस्थल परेको हुनाले यहाँ हाट बजार लाग्नु स्वाभाविक थियो ।
जोरसाल नामाकरणका बारे पनि आफ्नै जनश्रुति रहेको छ । धेरै अघि तमोरपारी एक जोडी युवा युवति हाडनाता बिग्रेर गाउँ छोडी भागेछन् । भागेर जाने क्रममा राति यसै ठाउँमा बास बसेछन् । राति सुतेका बेला एउटा ठूलो खजुरोले डसेर तिनीहरु दुवै त्यहिँ मरेछन् । गाउँका मानिसहरुले यस ठाउँमा देखा परिरहने ठूलो खजुरोले डसेर मारेछ भन्ने बुझेछन् र दुवैलाई एउटै चिहानमा यहिँ गाढेछन् । पछि तिनीहरुको चिहानबाट साल उम्रेछ । त्यो सालको बोट भुईबाट केहि माथिबाट फाटेर गई विशाल जोडी रुख जस्तो देखिन्थ्यो । लिम्बुहरु त्यो सालको रुखलाई काप ससिङ भन्थे र तिनै पुरिएका केटाकेटी जोरसाल भएर उम्रिएछन् भन्ने उनीहरुको मान्यता थियो । त्यो बडेमानको खजुरो पनि त्यहि वरिपरि देखा परिरहन्थ्यो । पछिबाट त्यो रुखलाई सबैले जोरसाल भन्नथाले ( श्रोत – टिका नेम्बाङ वर्ष – ८० , काजीश्रेष्ठ वर्ष -७४ , येहाङ लावती वर्ष- ७० )
वि.सं.२०४२ सालमा लप्टन ऋतुवर्ण ओझाको निधन हुँदा निजका कान्छा छोरा बलभद्र ओझाले बुबाको पुण्यस्मृतिमा पाटी बनाउन त्यो जोरसाल ढानेछन् । जंगबहादुर राणाका पालामा लप्टन ऋतुवर्ण ओझा पाँचथरमा भएको गडीहरुको रक्षार्थ धनकुटा गौडाबाट आएका थिए । यता रहदा उनको फिदिम पल्लोटार बस्ने राधा जैशीकी बाँस्कोटाको छोरीसित बिहे भई चारभाई छोराहरु जन्मेका थिए । बाँस्कोटाहरु भने अघिनै पाँचथर थुमका उबेलाका प्रशासक बाजनसिंका पालामा बसोबास सुरु भएको आङदेम्बे वंशावलीमा उल्लेख छ । बाजनसिंका बुवा कुम राय बिजयपुर शेन राजप्रसादको काजीभएको कागज आङदेबम्बे वंशावलिमा देखा पर्छ ।
हाल फिदिमपल्लोटार बसोवास गर्ने ओझाहरु तिनै ऋतुवर्ण ओझाको बाँस्कोटा पट्टिका चार भाई छोराका सन्तानहरु हुन् । पछि क्याप्टेन ऋतुवर्ण ओझा फिदिममा रहेका आफ्ना स्वास्नी ,छोराछोरी यतै छोडेर धनकुटामै फर्किए र त्यहि उनको निधनभयो । वि.सं. १९४३ सालमा यहि ढालिएको जोरसालको काठ प्रयोग गरी यता रहेका उनका छोराहरुले पाटी बनाए । त्यो पाटी अस्तित्वमा हुँदासम्म त्यसलाई जोसाल पाटीनै भनिन्थ्यो । (श्रोतः गंगा बास्कोटा वर्ष- ७७, रेणु ओझा वर्ष- ६४ , प्रेम ओझा वर्ष -५९ , लय बास्कोटा , वर्ष -७१)
वि.सं. २०१७ सालमा पहिलो पटक यो पाटीमा अदालत, बस्नु अघिसम्म यहाँ प्रहरी चौकी बसेको थियो । पाटीको पछाडि ढुंगाको अग्लो पर्खाल लगाई कैदि थुन्ने हिरासत बनाईएको थियो । अदालत, चौकी फिदिम सरेपछि यस पाटिलाई हाट बजार आउने व्यापारीहरुले प्रयोग गर्न थाले । वि. सं. २०३९ सालमा मेची सडक खन्ने क्रममा तस्वीरमा देखिएको जोरसाल पाटीको आधा भागभत्काई सडक बनाईयो । अन्त्यमा वि.सं. २०५२ सालतिर त्यो जोरसाल रुखको अवशेष बोकेको त्यो जोरसाल पाटी पूर्ण रुपले नष्ट भई स्थानको नाम मात्र बाँकी रहनपुग्यो ।
जोरसाल बजारमा स्थाई घर बनाई व्यापार गर्ने पहिलो व्यक्तिको हुन यकिन हुन सकेको छैन् तर जोरसाल निवशी काजी श्रेष्ठ,वर्ष- ७४ का अनुसार उनका वुवा कणर् वहादुर श्रेष्ठले जोरसालका पुराना व्यापारी भोजपुरे साईला (नाम थाहा नभएको ) को जोरसालमा रहेको पुरानो घर वि.सं. २०१८ सालमा लिँदा वि.सं.१९९० सालको भूकम्पले चर्काएको घर लिएका थिए । यस कुरालाई आधार मान्दा नेवार थरीका ती भोजपुरे साईला र उनका दाजु भोजपुरे जेठा जोरसाल बजारमा धेरै अघिदेखि व्यापार गर्दै आएको अनुमानगर्न सकिन्छ ।
भोजपुरबाट आई जोरसालमा व्यापार गर्दै बसोबास गर्ने ती दुई दाजुभाई वि.सं. २००७ सालको. लुटपाटमा परेका थिए । तिनका सन्तानहरु अचेल फिदिममा छैनन् । त्यसछि वि.सं. २००८ सालमा नेपाल (काठमाडौँ ) बाट नेवार थरीका नाम थाहा नभएको नेपाले भन्ने व्यापारी जोरसाल आएर बसेका थिए । उ बेलागाउँमा व्यापार गर्न आएका व्यापारीलाई घर या पाटी उपलब्ध गराईदिने चलन थियो किनकी तिनीहरु त्यस बखतका अति आवश्यक व्यक्ति मानिन्थे । उ बेलाका समयमा भोटको नुन, बंगालको कपडा, मटितेल आफ्नै गाउँमा बेच्ने व्यापारी पाउँनु बरदाननै थियो । नेपालेलाई पनि जोरसालको मध्यभागमा रहेको चोकमागुका तुम्बापोहरुले बनाएका पुरानो पाटीमा बस्ने व्यवस्था मिलाईदिएका थिए । त्यो पाटी पनि वि.सं. २०३९ सालमै सडक निर्माणको क्रममा भत्किएको थियो । नेपालेका सन्तान हाल कहाँ छन् थाहा हुन सकेको छैन् । त्यसपछि तेह्रथुम म्याङलुङबाट वि.सं. २०११ सालमा कृष्ण प्रसाद जोशी (ठाईला साहु) जोरसाल आइपुगेका थिए । ठाईला साहुका सन्तान अचेल जोरसालमै रहेका छन् । (श्रोत गंगाराम भट्टराई वर्ष- ९२, राजकुमार जोशी वर्ष -६५ , टिका नेम्बाङ वर्ष -८० )
त्यस बखत जोरसालआई पुग्ने ती व्यापारीहरु असहज , कठिन समयका व्यापारी थिए । कठिन समयमा यिनले नुन , मट्टितेल , कपडा उपलब्ध गराए । यिनको सिको गरेर अरुले पनि त्यहाँघर बनाएर व्यापार गर्न थाले । त्यसैले सुरुवातका यीव्यापारीहरुको योगदानको जतिनै चर्चा गरे पनि कमै हुन्छ । जोरसाल बजार लामो समय सम्म पाँचथर जिल्लाको प्रमुख व्यापारीक केन्द्र भएर रहयो । वि.सं. २०२४ सालमा खिचिएको जोरसाल हाट बजारको फोटोहरुमा बजार ठुलाे भईसकेको देखिन्छ ।
उस बखतको भेसभुषा हेर्दा बजारभरी दौरा सुरुवाल र गुन्यु चोली लाउनेहरु भन्दा अन्य पोशाक देखा पर्दैन । वि.सं. २०३९ सालमा मेची सडक निर्माणका क्रममा सडक बजारको बिच भएर गए पछि त्यहाँका पुराना चौतारा, पाटीपौवा, वरपिपल सबै नास भए । त्यसको केहि वर्ष पछि वर्षौअघि देखि लाग्दै आएको त्यो ऐतिहासिक हाट बजार सधैँका लागि बन्द भयो ।
विकास निर्माणको नाममा पुर्खाले निर्माण गरेका पाटी,पैवा,चैतारा र पुर्खाको चिहानघारी यसरी भत्काइनु हुँदैन । परापुर्व कालदेखि लाग्दै आएको र पुर्खा सँग सम्बन्ध राख्ने यस्ता हाट बजारहरु मर्न दिनु हुँदैन बरु ब्यूताइनु पर्छ ।