पाँचथर । प्रहरीकै मिलेमतोमा एक जना सर्वसाधारणलाई फसाइएको आशंका गरिएको छ। असार २४ गते साँझ प्रहरी वृत्त गौशालाले कस्तुरीको बिनासहित एक जनालाई पक्राउ गरेको थियो। उक्त समाचार प्रहरीको केन्द्रीय बुलेटिनमार्फत् समेत सार्वजनिक गरिएको थियो। जहाँ चाबहिलस्थित सडकबाट कस्तुरीको बिनासहित पाँचथर तुम्बेवा गाउँपालिका–५ घर भई हाल काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बुलाई पक्राउ गरिएको उल्लेख गरिएको थियो।
लिम्बूको बा ८२ प ५७९ नम्बरको मोटरसाइकलमा कस्तुरीको बिना लुकाई राखेको सूचना आएपछि बिनासहित उनलाई पक्राउ गरिएको भन्दै प्रहरीले घटना सार्वजनिक गरेको थियो। तर यस घटनामा लिम्बुलाई प्रहरीकै योजनामा फसाउन खोजिएको देखिएपछि छानबिन समिति गठन गरेर अनुसन्धान सुरु गरिएको छ।छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी दिलिप घिमिरेको संयोजकत्वमा समिति गठन गरिएको छ।
समितिमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी कृष्ण चन्द र प्रहरी निरीक्षक गणेशचन्द्र कोइराला छन्। लिम्बुलाई बिनासहित पक्राउ गरिएको बताएपछि उनका आफन्तले उक्त क्षेत्रको सीसी टीभी फुटेज हेर्दा घटना शंकास्पद देखिएको थियो।चाबहिल सडकखण्डमा मोटरसाइकल रोखेर एक रेष्टुरेन्टमा लिम्बु छिरेका थिए। त्यसको केही समयपछि अर्का एक जना व्यक्ति आएर लिम्बुको मोटरसाइकलमा केही वस्तु राखेजस्तो दृश्य सीसी टीभी फुटेजमा देखिन्छ।
मोटरसाइकलको सिटमुनि केही वस्तु राखेका ती व्यक्ति त्यसपछि सडक पारीतर्फको सैलुनमा जान्छन्। त्यसको केही समयमा नै सादा पोशाकका प्रहरी आएर लिम्बु बसेको होटलमा छिरेर उनलाई पक्राउ गर्छन्।
लिम्बुको मोटरसाइकलमा बिना रहेको भन्दै उनलाई हत्कडीसमेत लगाउँछन्। त्यसको केही समयमै बर्दिसहितको प्रहरी टोली आएर घटनास्थल मुचुल्का गरेको सीसी टिभी फुटेजमा देखिन्छ। फुटेजमार्फत् लिम्बुलाई जानकारी नै नदिई उनको मोटरसाइकलमा बिना राखेर फसाइएको भन्ने आशयलाई पुष्टि गर्ने दृश्य देखिएपछि छानबिन सुरु गरिएको छ।
यसअघि पनि रौतहटमा यस्तै किसिमको घटना भएको थियो। प्रहरीकै मिलेमतोमा एक पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फसाउन खोजिएको थियो। पछि उक्त क्षेत्रको सीसी टिभी फुटेज हेर्दा योजनाबद्ध तरिकाले फसाउन खोजेको पुष्टि भएपछि प्रहरीलाई फौजदारी मुद्दा चलाइएको थियो। उक्त घटनामा प्रहरी नै पुर्पक्षका लागि कारागार चलान भएका थिए।
नेपाललाइभ