ताप्लेजुङ । वैशाख २८ गते मृत भेटिएका मिक्वाखोला–१ खोक्लिङका बिमल कार्की मृत्युको रहस्य २ महिना बितिसक्दा पनि खुलेको छैन। २४ वर्षीय कार्की स्थानीय निर्वाचनको मुखैमा मृत भेटिएका थिए।
परिवारका सदस्यले हत्या भएको हो या अन्य कुनै कारणले मृत्यु भएको जानकारी दिन प्रहरीसँग माग गरेका छन्। बिमलका बुवा भीमबहादुर कार्कीले प्रहरीमाथि नै आशंका हुन थालेको बताए। गठबन्धन दलले निर्वाचनको मुखैमा योजनाबद्ध हत्या गरेको दाबी गर्दै आएको एमालेले चरम राजनीति भएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ।
नेकपा एमाले र उसका १९ वटा जनवर्गीय संगठनले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य चाँडो सार्वजनिक गर्न माग गरे। विज्ञप्तिमा पीडितलाई न्याय दिलाउने काममा पार्टी पनि जाग्नुपर्ने बाध्यता भएकाले प्रहरी प्रशासन समक्ष माग गर्नुपरेको उल्लेख गरिएको छ।
एमालेका सबै जनवर्गीय संगठनका प्रतिनिधिले बुधबार प्रहरी प्रमुख र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाए। स्काभेटर तलाउने बिमल कार्कीको हत्या भएको दाबी एमालेले गर्दै आएको छ। यसअघि जिल्लामा विज्ञप्ति निकाल्नेदेखि केन्द्रमा गृहमन्त्री बालकृष्ण खाँणसम्मलाई भेटेर घटनाको छानबिन गर्न दबाब दिएको थियो। एमाले सचिव योगेश भट्टराईले खाँणलाई भेटेरै घटनाको सत्यतथ्य छानबिन गर्न ज्ञापनपत्र बुझाएका थिए।
जेठ १० गते एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य भट्टराईले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा राजनीतिक उद्देश्यबाट प्रेरित भएर हत्या गरिएको उल्लेख छ। भट्टराईले बुझाएको ज्ञापनपत्रमा आफ्नो घर नजिकैको भीर बाटोमा कुटपिट गरी निर्ममतापूर्वक हत्या गरिएको देखिएको उल्लेख छ। घटना भएको समयमा गठबन्धनमा आवद्ध दल र एमाले ताप्लेजुङ विज्ञप्ति बाजीमा उत्रिएका थिए। एमालेले कार्कीको राजनीतिक कारणले नै हत्या भएको दाबी गरेको छ भने गठबन्धनका तर्फबाट जारी विज्ञप्तिमा अमर्यादित शब्द प्रयोग गरी अनुसन्धानको क्रम प्रारम्भ नै नभई दोसारोपण गरेको बताइएको थियो।
यता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले भने सो घटनाका विषयमा सुक्ष्म रूपमा अनुसन्धान जारी रहेको जनाएको छ। प्रदेश १ बताए आएको अनुसन्धान टोलीले पनि अध्ययनलाई निरन्तरता दिएको उल्लेख छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाशकुमार राई अनुसन्धान चलिरहेको बताउँछन्।
उनका अनुसार अहिलेसम्म २९ जनालाई सोधपुछ गरिएको छ। तर, प्रहरी निष्कर्षमा पुगेको छैन। निर्वाचन मिति नजिकिँदै जाँदा बिमल केही दिन घर बस्ने र भोट पनि हालेर फर्किने भन्दै बिदा लिएर घर जाँदै थिए। उनी तेल्लावुङ कन्सट्रक्सनको स्काभेटर चालक हुन्।