झापा ।गत असारको १२ गते झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ७ साहसी टोल नजिकै रहेको खेतमा पानी पठाउनका लागि राखिएको ह्युम पाइपभित्र बोरामा बाँधेर फालिएको अवस्थामा एउटा शव भेटियो ।
साँझ ६ बजेको समयमा प्रहरीलाई जानकारी आएलगत्तै बिर्तामोडबाट गएको प्रहरी टोली घटनास्थलमा पुग्यो । पानीले आधा डुबेको अवस्थामा रहेको उक्त बोरा बाहिर तानेर खोलेर हेर्दा त्यहाँ एक पुरुषको शव रहेको देखियो । अनुहारमा घाउचोट जस्तो देखिने उक्त शवसँग पहिचान खुल्ने कुनै कागजात वा प्रमाण थिएन । मृतकको शरीरभरि नै रौं थियो र जुङ्गा पालेको थियो, दाह्री भने काटिएको थियो ।
शव भेटिएपनि शवको पहिचान खुल्ने कुनै कागजात प्रहरीसँग थिएन । एउटा गुलाबी छिर्केमिर्के सर्ट र सेतो धर्का भएको ट्राउजर बाहेक प्रमाण लाग्ने वा सनाखत हुने अन्य कुनै कुराहरू थिएन । घटनास्थल वरपर कुनै व्यक्ति हराएको सूचना नआएको कारण तत्काल शव कसको हो भन्ने पहिचान खुल्न सकेन ।
प्रहरीले असार १३ गते नै अज्ञात व्यक्तिको शव भेटिएको बारे प्रेस विज्ञप्ति पठाएपछि त्यो समाचार सबैजसो सञ्चारमाध्यममा प्रकाशित भयो । यता प्रहरीले शवसँगै बरामद गरेको बोराबाट अनुसन्धान सुरु गर्यो ।
मृतकको शव राख्न जुन बोरा प्रयोग भएको थियो, त्यो मुरई कम्पनीको बोरा थियो । उक्त बोरामा फोन नम्बरहरू पनि थियो । प्रहरीले अनुसन्धानको सुरुवात बोराबाटै सुरु गर्यो । त्यो बोरा कहाँ बनाउँछ भनेर त्यसको फ्याक्ट्री खोज्यो, मुरई कहाँ कहाँसम्म पुराउँछ भनेर त्यो पनि खोज्यो ।
त्यसका होलसेलर र रिटेलर को को छन् भनेर पनि अनुसन्धान गर्यो । प्रहरीले प्राविधिक पक्षबाट पनि घटनाको अनुसन्धान गर्यो । तर पनि मृतक र घटनामा संलग्नबारे कुनै जानकारी पाउन सकेन । प्रहरीको अनुसन्धान मृतकको पहिचान खोज्नमै केन्द्रीत रह्यो ।
प्रहरीलाई आएको त्यो क्लु
बोरामा पोको पारेर फालिएको शवको बारेमा सञ्चारमाध्यममा समाचार आएपछि झापाकै एक व्यक्तिले बिर्तामोडका डीएसपीलाई फोन गरेर एकजना भारतीय नागरिक केही दिनदेखि सम्पर्कविहीन भएको र कतै ती मृतक तिनै भारतीय पो हुन् किन भनेर चासो राखे । प्रहरीले ती व्यक्तिको नाम र फोटो छ भनेर सोधे ।
सूचना दिने व्यक्तिले ती व्यक्तिको नाम जापडिया नरेशकुमार बाबुभाइ रहेको भन्दै नामसहितको आधार कार्ड र फोटो पठाइदिए । प्रहरीलाई प्राप्त फोटोमा देखिएको जुँगाको आधारमा प्रहरीलाई मृतक र हराइरहेका व्यक्ति एकै हुन् भन्नका कुनै समस्या रहेन ।
फोटोसँगै ती व्यक्तिको झापाकै अर्जुनधारामा एक गर्लफ्रेण्ड पनि रहेको र गर्लफ्रेण्डको नाम जानुका रहेको सुराक दिए । अनि जानुकाको माइतीको थर थाहा नभएको तर थापासँग विवाह गरी बसेको जानकारी आएपछि प्रहरीले जानुका भन्ने पात्रको खोजी सुरु गर्यो ।
सुरुमा शव भेटिएको वरपर जानुकाको खोजी गरेको प्रहरीले त्यसक्षेत्रमा जानुका नाम गरेको व्यक्ति र घटनामा संलग्नता खोज्न सकेन । त्यसपछि प्रहरीले झापाको जानुका थापा भन्ने व्यक्तिको फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालको खोजी गर्यो । त्यसलगत्तै जानुका सुवेदी थापा भेटिइन् । तर प्रहरीसँग जानुकाको मोबाइल नम्बर थिएन । त्यसपछि प्रहरीले विभिन्न स्रोत प्रयोग गरेर जानुकाको मोबाइल नम्बर प्राप्त गर्यो ।
फोन नम्बर पाएलगत्तै असार १८ गते डिएसपी रुगम कुँवर आफैले जानुकालाई फोन गरेर आफू बिर्तामोडको डिएसपी बोलेको, तपाईंसँग केही कुरा गर्नुछ भने । आफू डिएसपी भन्ने बित्तिकै जानुकाले फोन काटिन् र मोबाइल अफ गरिन् । त्यसलगत्तै प्रहरीलाई हत्यामा उनकै संलग्नता भएको हुनसक्ने शंका झनै बढ्यो । प्रहरीले जानुकालाई सम्पर्क गरिरह्यो । तर करिब आधा घण्टासम्म जानुकाले मोबाइलको स्वीच अन गरिनन् । पछि मोबाइल अन गरेपछि प्रहरीले फेरि सम्पर्क गरेर ‘तपाईं कहाँ हुनुहुन्छ, म त्यहीँ आउँछु । नत्र हतकडी लगाएर ल्याउन नपरोस्’ भनेपछि जानुकाले प्रहरीलाई आफ्नै घरमा बोलाइन् ।
डिएसपी कुँवर आफै जानुकाको घरमा गए र जानेबित्तिकै जानुकाको मोबाइल मागेर हेरे । तर जानुकाले मोबाइल फम्र्याट गरिसकेकी थिइन् । त्यहाँ रहेका फोटोहरू सबै डिलिट भइसकेको थियो भने ह्वाट्सएप पनि प्रयोग गरिएको थिएन । तर जानुकाको मोबाइलमा दुईवटा फोटो भने भेटियो । दुईमध्ये एउटा फोटो बोरामा प्याक गरिएको जापडियाको शवको फोटो थियो भने दोस्रो फोटो अर्जुनधारामा बोरामा प्याक गरिएको अवस्थामा भेटिएको पहिचान नखुलेको शवको सम्बन्धमा आएको समाचारको स्क्रिन सट थियो ।
त्यसपछि प्रहरीले घरभित्रका कोठाहरू हेर्न थाले । एउटा कोठामा नयाँ कार्पेट, नयाँ तन्ना आदि राखिएको देखियो । त्यही बेला कोठामा आएका एक बालकलाई कार्पेट, तन्ना कहिले फेरेका भनेर सोध्दा तीनचार दिनअघि फेरेको जवाफ दिए । अनि कोठाको कुनातिर कपुर नै कपुर राखिएको देखियो । नयाँ कार्पेट, नयाँ तन्ना, कपुर आदि सबै देखेपछि प्रहरीलाई यकिन भयो कि हत्या त्यही कोठामा भएको थियो । हत्या हुँदा निस्किएको रगतको गन्ध हटाउन कपुर प्रयोग गरिएको र रगत लागेको कारण नयाँ तन्ना र कार्पेट फेरिएको बुझ्न प्रहरीलाई गाह्रो परेन । त्यसलगत्तै प्रहरीले बाहिर रहेका जानुकाका श्रीमान्लाई पनि घरमा बोलाए र दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याए ।
अनि सुरु भयो विस्तृत सोधपुछ
इलाका प्रहरी कार्यालय ल्याउनेबित्तिकै जानुकाका श्रीमान ४९ वर्षीय वृखबहादुर थापालाई हिरासतमा पठाएर जानुकालाई मात्रै सोधपुछ सुरु गरियो । तर महिलाले एक घण्टासम्म घटनामा संलग्नता नरेको बताइरहिन् । बरु ती भारतीयसँग अर्को मान्छे पनि आएको र उनीहरू असार ९ गते नै घरबाट निस्किएको भन्दै घटनाबारे केही कुरा थाहा नभएको बताइरहिन् ।
तर प्रहरीले घटनामा संलग्नताको आधार एकपछि अर्को बताउँदै घरमा नयाँ कार्पेट, कपुर आदिको सबै कुरा निकालेपछि करिब एक घण्टापछि बल्ल आँशु झार्दै ‘मैले पनि होइन र मेरो लोग्नेले पनि होइन, दुई जना केटाहरूले मारेका हुन्’ भनेर स्वीकार गरिन् ।
‘को हुन् ती केटाहरू ?’ भनेर सोध्दा जानुकाले सुरेश परियार र शैलेश सापकोटाको नाम लिइन् । तर केटाहरूले किन मारे त भन्दा मलाई यौन दुव्र्यवहार गर्यो त्यो पनि मेरो लोग्ने कै अगाडि त्यही भएर मार्ने योजना बनाएको भनेर जानुकाले प्रहरीलाई बयान दिइन् । साथै उनले ५ लाख दिने शर्तमा मार्न लगाएको खुलाइन् । शैलेश जानुकाको भदा थिए भने सुरेश परियार सुपारी दिइएका एक हत्यारा थिए ।