झापा । झापामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन्। जिल्लाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका हुन्।
मेचीनगर, अर्जुनधारा र विर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ। बिहीबार मात्र १०० जना ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित आउनुभयो’, अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा सकुशल औषधि पसल सञ्चालनक स्वास्थ्य सहायक कलम निरौलाले भने, ‘एक हप्ता जति भयो, शरीरका विभिन्न अङ्गमा डढुवा घाउजस्तो आएका मानिस आउन थाल्नुभएको बिहीबार मात्र १ जनालाई औषधि दिएर पठाएँ।’
उनले दैनिक हात, खुट्टा, घाँटीमा स–साना फोका लिएर चिलायो र पोल्यो भन्दै आएकाे सोही रोगका संक्रमितहरुलाई ‘एन्टिभाइरल क्रिम’ दिएर पठाउँदै आएको जानकारी दिए। उनका अनुसार सोही क्रिम घाउमा लगाएको दुईदेखि तीन दिनभित्रमा निको हुने गरेको छ। उनले स्थानीय मेडिकलहरुमा एन्टिभाइरल क्रिम किन्न आउनेको भीड लाग्ने गरेको बताए। विगत सात वर्षदेखि औषधि पसल सञ्चालन गर्दै आएका निरौलाले पहिलोपटक यति धेरै मात्रमा एन्टिभाइरल क्रिम बिक्री गरेकोसमेत जानकारी दिए।
उनले एक हप्ताको अन्तरालमा झण्डै ४०० बढीलाई सो क्रिम बिक्री गरेको जानकारी दिए। उनले भने, ‘औषधि नै सकियो, विर्तामोडको मिरिका फार्मेसीबाट थप मगाएको छु।’ मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टा स्वास्थ्यचौकीका प्रमुख लेखनाथ खतिवडाले शरीरका विभिन्न अंगमा डढुवा घाउजस्तो भएका धेरै नै बिरामी आइरहेको बताए।