काठमाडौं । काठमाडौंको डिल्लीबजार निवासी मनोजकुमार तिवारी छोराको नागरिकता बनाउन बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका थिए। दुई छोराका बुवा उनी आफ्नो कान्छो छोराको नागरिकता बनाउन चाहन्थे। चार वर्षअघि जेठो छोराको नागरिकता बनाइसकेका थिए।
त्यतिबेला कुनै समस्या नभए पनि अहिले कान्छो छोराको नागरिकता बनाउन कार्यालय धाउँदा उनले आफ्नै नागरिकता बनाउन पर्ने भयो। खल्तीमा आफ्नो नागरिकता हुँदाहुँदै अभिलेखमा नभेटिएपछि उनलाई फेरि नागरिकता बनाउन कार्यालयले भनेको थियो।
‘कार्यालयले पहिला मेरो नागरिकता भेरिफाइ गर्न भनेको थियो। तर नागरिकताको अभिलेख त्यहाँ भेटिएन,’ उनले भने, ‘यही नागरिकताबाट मैले मेरो ठूलो छोराको नागरिकता बनाएको छु, विवाह दर्ता बनाएको छु, कम्पनी दर्ता गराएको छु। अहिले यहाँ अभिलेखमा भने छैन।’
उनले अगाडि भने, ‘त्यसको मतलब त म आफ्नै देशमा अनागरिक रहेछु। मैले बोकिरहेको नागरिकता त केवल कागज रहेछ।’
तिवारीले २०४५ सालमा नागरिकता बनाएका हुन्। तर अभिलेख खोज्दा नभेटेपछि जिल्ला प्रशासन कार्यालयले उनलाई ‘झुत्रो भई फेला नपरेको’ भनेर विवरण दिएको छ। त्यसपछि उनले नयाँ नागरिकता लिनको लागि फारम भनुपर्ने भयो। फारममा ‘यसअघि मैले नागरिकता लिएको छैन’ भनेर उल्लेख गरेको कुरामा पनि उनले आपत्ति जनाए।
‘मसँग नागरिकता हुँदाहुँदै छैन भनेर लेख्नु भनेको सरकारले मलाई सिधासिधा चोरी गर भन्नु हो।’
यो समस्या तिवारीको मात्र होइन। जिल्ला प्रशासन कार्यालयमा यस्ता समस्या बोकेर दैनिक मान्छेहरू आउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए। उनले यो समस्या धेरै जनाको भएको स्वीकारे।
उनका अनुसार रानीपोखरीस्थित बागमती अञ्चालाधीश कार्यालयमा आगलागी हुँदा धेरैको अभिलेख जलेको थियो। त्यसकारण अहिले नागरिकहरूले दोहोर्याएर नागरिकता लिनुपर्ने भएको छ।
‘२०४० देखि ०४६ सम्मका नागरिकताहरू कमै भेटिन्छन्। बागमतीको अञ्चालाधीश कार्यालय रानीपोखरीमा २०४६ सालको आन्दोलनमा धेरै जलेका थिए,’ उनले भने, ‘हाम्रो र मालपोत कार्यालयको धेरै कागजातहरू जलेका छन्।’
४० सालयता नागरिकता बनाएका नागरिकहरूले यदि आफ्ना छोराछोरीहरूको नागरिकता बनाउन जाँदा वा राष्ट्रिय परिचय पत्र बनाउन जाँदा अभिलेखमा नभएको पाइएमा फेरि नयाँ नागरिकता बनाए जसरी नै बनाउनुपर्ने रिजालले बताए।
‘अभिलेखमा नभएमा जसरी नयाँ नागरिकता बनाउँछन्, त्यसरी नै वडा कार्यालयको सिफारिस लिएर फेरि नयाँ नागरिकता बनाउनुपर्ने हुन्छ,’ उनले भने।
यद्यपि सबैको नागरिकता भने जलेको थिएन। केहीको भने भेटिन सक्छ। तर यसरी जलेको संख्या के कति छ भन्ने यकिन नभएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।
‘जलेको संख्या त लाखमै होला। अहिले एकै दिन दुई–तीन सय नागरिकता बन्छ भने त्यतिबेला धेरै नै बनेका होलान्,’ उनले भने।
यस्ता समस्या देखिएका नागरिकतामा नयाँ नागरिकता बनाएपछि पहिले र अहिलेको नयाँ नागरिकता नम्बर पनि हालिने उनले जानकारी दिए।
यसले गर्दा पासपोर्ट, विवाह दर्ता लगायतमा पुरानो नम्बर भएमा समस्या हुँदैन।
‘यो–यो समयदेखिको नागरिकता छैन भनेर हामीले बोलाऔं भन्ने पनि सोचेका हौं तर कतिपयको नागरिकता छ,’ उनले भने, ‘यदि सिरियल नम्बर यतिदेखि यतिसम्मका लगातार सबै जलेको हो भनेर जानकारी भएको भए बोलाउन हुन्थ्यो।’
२०७३ यता भने सबै कम्प्युटर सिस्टममा गइसकेको हुँदा अभिलेख सुरक्षित नै हुने उनी बताउँछन्। ‘नागरिकता बनाउँदा पेस गरिएका कागजातहरू सबै स्क्यान गरेर राख्ने गरेका छौं। केही कारणले जिल्ला प्रशासनको अभिलेख नष्ट भएमा अब हामीसँग ब्याकअप छ,’ उनले भने, ‘त्यही भएकाले अब बनेका नागरिकतामा त्यो समस्या नहोला।’
नागरिकताको समस्या काठमाडौंको मात्र होइन। काठमाडौं बाहिरका मान्छेहरू पनि यस्तै समस्या बोकेर कार्यालयमा आएका थिए। भोजपुरबाट काठमाडौंमा बसाइसराइ गरिसकेका ज्ञान अधिकारीको समस्या पनि उस्तै थियो। उनी यहाँबाट राष्ट्रिय परिचय पत्र बनाउन चाहन्थे। त्यसको लागि नागरिकताको प्रमाणीकरण गर्नुपर्ने थियो।
भोजपुरको जिल्ला प्रशासन कार्यालयबाट प्रमाणीकरण भएपछि बल्ल उनले यहाँ परिचय पत्र बनाउन पाउँथे। तर काठमाडौंबाट भोजपुरको प्रशासन कार्यालयमा खोज्दा उनको नागरिकता भेटिएन। आफ्नो नागरिकता द्वन्द्वकालमा जलिसकेकाले नभेटिएको हुनुपर्ने उनी अनुमान गर्छन्।
२०४४ सालमा आफूले बनाएको नागरिकता हामीलाई देखाउँदै उनले भने, ‘मैले आजसम्म बोक्दै आएको नागरिकता त केवल कागजको खोस्टो मात्र रहेछ।’