काठमाडौं । यस वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको उपाधि जित्न सक्ने प्रमुख दाबेदार टिममा केही देशको नाम मुख्य चर्चामा छ ।
लिओनल मेस्सीको टिम अर्जेन्टिना, क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल, नेइमारको टिम ब्राजिल, इडेन हाजार्डको टिम बेल्जियम आदि । यसपटक साबिक च्याम्पियन फ्रान्सलाई धेरैले प्रमुख दाबेदार मानेका छैनन् । जर्मनी, स्पेन, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, डेनमार्क जस्ता हेभिवेट देश पनि दौडमै हुनेछन् ।
आसन्न विश्वकपको सम्भावित नतिजालाई लिएर विभिन्न भविष्यवाणी तथा टिप्प्णी भइरहेका बेला एक सर्वेक्षण रिपोर्ट प्रकाशित भएको छ, जसमा कुन देशको विश्वकप जित्ने सम्भावना कति प्रतिशत छ भनेर सर्वे गरिएको छ । ‘स्टाटस परफर्म्स एआई मोडेल’ले गरेको ताजा अनलाइन सर्वेले रोचक नतिजा निकालेको छ ।
जसमा मेस्सीको अर्जेन्टिना र रोनाल्डोको देश पोर्चुगल दुवै प्रमुख दाबेदार देशको सूचीमा टप–५ मै परेका छैनन् । बरु, टप–५ मा ह्यारी केनको टिम इंग्ल्यान्ड समावेश छ ।
‘स्टाटस परफर्म्स एआई मोडेल’ले अनलाइन मार्फत् गरेको सर्वेमा ३ लाख ५५ हजार फुटबलप्रेमी दर्शक समावेश थिए । उनीहरूले आफ्नो रोजाइ अनुसार विश्वकप जित्न सक्ने देशलाई भोट दिएको र समग्र भोटको अन्तिम नतिजा हिजो प्रकाशित भएको हो । यो सर्वे नतिजाले केही हेभिवेट टिमप्रति फ्यान विश्वस्त नरहेको देखाउँछ । अर्जेन्टिना र पोर्चुगल दुवैलाई भोट गर्नेले टप–५ दाबेदारमा राखेका छैनन् ।
सर्वे नतिजा अनुसार साबिक च्याम्पियन फ्रान्स यसपटक पनि कतार विश्वकपको सबैभन्दा बलियो दाबेदार देशका रूपमा रहनेछ । फुटबल समर्थकले फ्रान्सको पक्षमा सबैभन्दा धेरै १७.९३ प्रतिशत भोट दिएका छन् । एक महिनाअघि भएको नेसन्स लिगमा ४ खेलमा जितविहीन बनेको फ्रान्स आलोचित बनेको थियो । २ खेलमा हार र २ खेलमा बराबरी गरेर रेलिगेसनमा परिसकेको फ्रान्स विश्वकपमा मुख्य दाबेदार नरहने भन्दै धेरैले आलोचना गरे ।
तर, पछिल्लो सर्वे रिपोर्टमा भने धेरैले फ्रान्सलाई नै विश्वकपको नम्बर १ दाबेदार मानेका छन् । फ्रान्सलाई मेस्सीको अर्जेन्टिना र रोनाल्डोको पोर्चुगललाई भन्दा पनि बलियो दाबेदार मानिएको छ । फ्रान्स पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलले विश्वकप जित्न सक्छ भन्नेमा १५.७३ प्रतिशतले मत दिएका छन् ।
तेस्रो स्थानमा स्पेन रहेको छ । स्पेनले विश्वकप जित्न सक्छ भन्नेमा ११.५५ प्रतिशत समर्थकले मत दिएका छन् । चौथो स्थानमा रहेको इंग्ल्यान्डलाई ८.०३ प्रतिशतले उपाधि दाबेदार मानेका छन् ।
त्यसैगरी, फिफा वरीयताको दोस्रो स्थानको बेल्जियम सूचीको पाँचौं स्थानमा रहेको छ । बेल्जियम विश्व फुटबलको सबैभन्दा सदाबहार टिम मानिन्छ । तर, उसले आजसम्म एकपटक पनि विश्वकप जित्न सकेको छैन ।
उसलाई ७.९० प्रतिशतले विश्वकपको उपाधि दाबेदार टिम मानेका छन् । छैटौं स्थानमा नेदरल्यान्ड्स रहेको छ । फुटबल फ्यानले पोर्चुगल र अर्जेन्टिनालाई भन्दा धेरै नेदरल्यान्ड्सलाई कतार विश्वकपमा बलियो उपाधि दाबेदार टिम मानेका छन् । यो निकै रोचक देखिन्छ ।
सर्वे नतिजा अनुसार नेदरल्यान्ड्सले विश्वकप जित्न सक्छ भन्ने पक्षमा उसलाई ७.७० ले मत दिएका छन् । नेदरल्यान्ड्स जर्मनीभन्दा पनि अघि रहेको छ । २०१४ को च्याम्पियन जर्मनी सातौं स्थानमा मात्रै रहेको छ । जर्मनीलाई ७.२१ प्रतिशतले कतार विश्वकपको उपाधि दाबेदार मानेका छन् । त्यसपछि सातौं स्थानमा मात्रै मेस्सीको टिम अर्जेन्टिना रहेको छ । अर्जेन्टिनालाई मात्रै ६.४५ प्रतिशतले फ्यानले कतार विश्वकप जित्न सक्ने टिम मानेका छन्, यो निकै कम हो ।
अर्जेन्टिनापछि आठौं स्थानमा क्रिस्टियानो रोनाल्डोको देश पोर्चुगल रहेको छ । पोर्चुगललाई ५.११ प्रतिशत फ्यान कतार विश्वकप जित्न सक्छ भनेर मानेका छन् । त्यसपछि २०१८ को रसिया विश्वकपको फाइनालिस्ट लुका मोड्रिचको टिम क्रोएसियालाई २.३१ प्रतिशतले उपाधि दाबेदार मानेका छन् । गत वर्ष युरो कपको सेमिफाइनलसम्म पुगेको डेनमार्कलाई यस विश्वकपमा मात्रै २.०३ प्रतिशतले उपाधि दाबेदार टिम मानेका छन् ।
कतार विश्वकपमा उपाधि जित्ने सम्भावना कसको कति प्रतिशत छ ? पूरा सर्वे नतिजा तल हेरौं–