काठमाण्डाैं ।अझैपनि कण्डमका बारेमा खुलेर कुरा गर्न मानिसहरू हिचकिचाउँछन् तर यसको प्रयोग भने व्यापक रुपमा भैरहेको आयात भएको तथ्यांकले पुष्टि गर्छ । कण्डमको नाम सुन्नेबित्तिकै जिब्रो टोक्ने चलन अझै समाजमा व्याप्त रहेको छ । सहरी क्षेत्रमा भन्दा बढी ग्रामीण क्षेत्रमा कण्डमका विषयमा बोल्न, छुन र किन्नसमेत हिच्किचाउने प्रवृत्ति रहेको पाइन्छ ।
नेपाल सिआरएस कम्पनीले देशभित्रै अमेरिकी प्राविधिक सहयोगमा ढाल, प्यान्थर, डिजायर ब्रान्डको कण्डम उत्पादन गरे पनि त्यसले बजारको माग नधानेकै कारण विदेशबाट कण्डम आयात हुने गरेको हो ।
परिवार नियोजनको अस्थायी र भरपर्दो साधन भएको कारणले यसको खपद बढ्दो देखिन्छ । यसले अनिच्छत गर्भ नियन्त्रण मात्रै गर्दैन, विभिन्न यौनरागेबाट समेत जोगाउँछ । सरकारले कण्डममा १ प्रतिशतमात्रै कर लिँदै आएको छ ।
चालू आर्थिक वर्ष को ११ महिनामा मात्र नेपालमा साढे १५ करोड रुपैयाँ भन्दा बढीको कण्डम भित्रिएको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार २०७८ साउनदेखि २०७९ जेठ महिनाको अवधिमा विदेशबाट १५ करोड ५१ लाख ४३ हजार रुपैयाँको कण्डम आयात भएको हो ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा अहिले पाँच गुणा बढी कण्डम आयात भएको हो । आर्थिक वर्ष २०७७/७८ को जेठसम्म तीन करोड ८१ लाख ६१ हजार रुपैयाँको कण्डम भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
यो वर्ष भारत, थाइल्यान्ड, दक्षिण कोरिया, मलेसिया, चीन, अमेरिकाबाट नेपालमा कण्डम आयात भएको देखिन्छ भने अघिल्लो वर्ष यी देशहरूबाहेक बंगलादेश, फ्रान्स र भियतनामबाट पनि कण्डम भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । संयुक्त अरब इमिरेट्सबाट जम्मा नौ वटा कण्डम भित्रिएको हुनाले यसलाई तथ्याङ्क विश्लेषणमा राखिएको छैन ।
भारतबाट १० करोड ९६ लाख १९ हजार रुपैयाँ बराबरको चार करोड ५० लाख ८० हजार ५९० वटा कण्डम भित्रिए । भारतबाट भित्रिएका कण्डमको मूल्य प्रतिगोटा दुई रुपैयाँ ४३ पैसा हुन आउँछ । जुन अघिल्लो वर्षको तुलनामा कम हो । अघिल्लो आर्थिक वर्षको ११ महिनामा त्यहाँबाट आयात भएका कण्डमको मूल्य प्रतिगोटा तीन रुपैयाँ ५० पैसा थियो ।
थाइल्यान्डबाट यो आर्थिक वर्षमा समिक्षा अवधिको तुलनामा प्रतिगोटा मूल्य बढेर आएको देखिन्छ । ११ महिनाको अवधिमा उक्त देशबाट दुई करोड ४८ लाख ७३ हजार रुपैयाँ बराबरको ५७ लाख ९ हजार ६०० वटा कण्डम भित्रियो । त्यहाँबाट भित्रिएको कण्डम भारतबाट भित्रिएको भन्दा अलिक महङ्गो छ । भन्सार विन्दुमा प्रतिगोटा चार रुपैयाँ ३६ पैसाको दर आयात भएको देखिन्छ । अघिल्लो वर्ष तीन रुपैया ९० पैसामा आयात भएको थियो ।
मूल्य र परिणामको हिसावमा दक्षिण कोरियाबाट आयात हुने कण्डमले तेस्रो स्थान ओगटेको छ । त्यहाँबाट ९६ लाख ६४ हजार रुपैयाँको छ लाख २३ हजार ३७० वटा कण्डम भित्रिएको छ । त्यहाँबाट भित्रिने कण्डमको मूल्य प्रतिगोटा १५ रुपैयाँ ५५ पैसा पर्न आउँछ ।
सूचीको चौथो नम्बरमा मलेसिया रहेको छ । मलेसियाबाट नेपालमा ५९ लाख १ हजार मूल्यको पाँच लाख ९९ हजार वटा कण्डम भित्रिएको छ । मलेसियाबाट नेपाल आउने कण्डमको मूल्य भारत र थाइल्याण्ड भन्दा सस्तो छ तर कोरिया भन्दा महँगो पर्न जान्छ । मलेसियाबाट आयात भएको कण्डमको मूल्य प्रतिगोटा ९ रुपैयाँ ८५ पैसा परेको विभागको तथ्याङ्कले देखाउँछ ।
नेपालमा आयात हुने कण्डम मध्येमा चीनबाट भित्रिने कण्डमको मूल्य धेरै महँगो छ । कण्डम विक्री गर्ने नेपालका केही वेबसाइटहरूमा चीनबाट आयातित कण्डमको मूल्य प्रतिगोटा ३५० रुपैयाँ भन्दा बढी राखेको समेत पाइयो । भन्सार विभागको तथ्याङ्कले त्यहाँबाट प्रतिगोटा ५८ रुपैयाँ २७ पैसामा आयात भएको देखाउँछ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिकमा त्यहाँबाट ५० लाख ५२ हजार रुपैयाँको ८६ हजार ७०६ वटा कण्डम नेपाल आयात भएको देखिन्छ ।
त्यस्तै गरी यो ११ महिनाको अवधिमा नेपालमा अमेरिकाबाट ३ हजार मूल्यको २४२ वटा कण्डम आयात भएको देखिन्छ । अघिल्लो वर्ष बङ्गलादेशबाट पनि कन्डम भित्रिएको भएता पनि यो वर्ष भने बङ्गलादेशबाट कन्डम आयात भएको छैन ।
नेपालमा कण्डमको गुणस्तर नाप्ने कुनै संयन्त्र छैन । औषधिहरूको गुणस्तरीयतालाई औषधि व्यवस्था विभागले नियन्त्रण गर्ने भए पनि कण्डमको गुणस्तर के कस्तो छ, यसमा आवश्यक सवै तत्वहरू छन् कि छैनन्, यसलाई प्याकेजिङ गर्नु अगाडि जाँच गरिएको छ कि छैन । प्रयोग गरिएको रबर, सिलिकन, ल्युव या अन्य पदार्थहरू उपयुक्त छन कि छैनन् ? भन्ने बारेमा नेपालमा जाँच हुँदैन ।
ktmdainik