झापा । झापाका पेट्रोल पम्पहरूमा हुने श्रृंखलाबद्ध चोरी घटनामा संलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सङ्खुवासभा जिल्ला मकालु गाउँपालिका ३ घर भई हाल झापाको बिर्तामोड नगरपालिका १ मा बसोबास गर्ने ३५ वर्षीय देवराज तामाङ रहेको प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएका विभिन्न पेट्रोल पम्प र सिमेन्ट उद्योगबाट लाखौँ रकम चोरी गरेको आरोप तामाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनिमा आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा एसपी पोखरेलले जानकारी दिए । प्रहरीका अनुसार असार १७ गते राति अन्दाजी साढे १० बजेको समयमा मेचीनगर १३ तेलीवारीस्थित मेट्रो ट्रेडिङ हाउसको पेट्रोल पम्पको भुईँ तलामा आवाज आएपछि पम्पका ट्याङ्कर चालक इलामका किरण दाहाल साथी समीर मिश्र र देवेन्द्र चौहान आवाज आएको स्थानमा हेर्न पुगे ।
चोरी गर्न त्यहाँ पुगेका तामाङ फलामको औजार डाई, पेचकस लिई पेट्रोल पम्पको काउन्टरको झ्याल फोर्दै गरेको अवस्थामा उनीहरूले फेला पारे । त्यसपछि चोर तामाङलाई पक्राउ गर्न खोज्दा उनले उल्टै उनीहरूमाथि रड प्रहार गरे । रड प्रहारबाट समीर मिश्र घाइते भएका थिए । सोही क्रममा उनीहरूले नै प्रहरीको सहयोगमा तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर चोरी तथा ज्यान मार्ने उद्योग कसुर मुद्दामा अनुसन्धान अघि बढाएको एसपी पोखरेलले बताए । तामाङले असार ५ गते राति मेचीनगर ७ मदनबस्तीस्थित सनराइज सिमेन्ट प्रालिको दुई तला भएको पक्की अफिस भवनको भुईँतलाको कोठाको ताला तोडेर एक लाख पचास हजार चोरी गरेका थिए ।
त्यस्तै सोही राति नै मेचीनगर ७ टोलस्थित राधाकृष्ण ईण्डष्ट्रिज चामल मिलको अफिस कोठाको अगाडिको झ्यालको ग्रिल तोडफोड गरी दुई वटा सिसी क्यामेराको तार चुँडाई अफिसको टेबलको घर्राको लक फोडेर नगद ४२ हजार चोरेका थिए । यस्तै, मेचीनगर ७ इँटाभट्टास्थित प्रनिक आयल स्टोरको अगाडि काउन्टरको झ्यालको ग्रिल तोडफोड गरी टेबलको लक्करबाट ६ लाख रुपैयाँ चोरी गरेका थिए ।
त्यसैगरी उनले असार ११ गते राति १० बजे बिर्तामोड २ स्थित आसमा ट्रेडर्स एन्ड सप्लायर्स (पेट्रोल पम्प) को ढोका फुटाएर भित्रबाट ७ लाख ३६ हजार ८९६ रुपैयाँ चोरेका थिए । सोही राति झापा कनकाई नगरपालिका ७ दुर्गापुरस्थित गरमकाली पेट्रोल पम्पबाट १५ हजार चोरी गरेको प्रहरीले जनाएको छ । गत जेठ ३१ गते राति कमल गाउँपालिका ५ स्थित गीता पेट्रोल पम्पको ढोका फुटाएर नगद ५ लाख रुपैयाँसमेत उनले चोरी गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।