पाँचथर । पाँचथरका ब्याडमिन्टन खेलाडी दिवस शंकर र एसिया जबेगुको टिमले नेपाली ब्याडमिन्टन कम्युनिटी युएईले दुवईंमा आयोजना भएकाे ‘टेक ब्याडमिन्टन कप’ को उपाधि जितेको छ ।
दुबईको प्राइम स्टार स्पोर्ट्स एकेडेमीमा टिम च्याम्पियनसिपको अवधारणामा आयोजना भएको प्रतियोगितामा नेपाली ब्याडमिन्टन कम्युनिटी च्याम्पियन बनेको हो ।
नेपाली ब्याडमिन्टन कम्युनिटीबाट दिवस शंकर, एसिया जबेगु, ज्ञानु बराल र पुरुषोत्तम ओलीले प्रतिस्पर्धा गरेको ब्याडमिन्टन रेफ्री उदय अर्यालले जानकारी गराए । उपाधिसँगै नेपाली ब्याडमिन्टन कम्युनिटी टोलीले १० हजार युएई दिराम अर्थात करिव ३ लाख ५० हजार रुपैया प्राप्त गरेका छन् ।
१० दिनअघि नेपाली ब्याडमिन्टन कम्युनिटीका खेलाडी सानिया चन्द र साहिल चन्दले दुबई स्कुल गेम्समा स्वणर् पदक जितेका थिए । उनीहरुले भारतको स्कुलबाट प्रतिस्पर्धा गरेका थिए ।
विजेतालाई इन्डियन ब्याडमिन्टन एसोसियसनका उपाध्यक्ष तथा मुख्य प्रशिक्षक पुलेला गोपिचन्दले पुरस्कृत गरे । उनले नेपाली टिमबाट खेल्ने अनुहार नभएपनि खेलाडीमा आशालाग्दो खेल प्रतिभा देखिएको बताए ।
दुवईंमा विभिन्न राष्ट्रबाट रोजगारीको शिलशिलामा त्यहाँ बसोबास गर्नेहरुको अलग अलग ब्याडमिन्टन कम्युनिटी रहेका छन् । त्यही कम्युनिटीबीच ब्याडमिन्टन प्रतियोगिता हुँदै आएको छ । भारतीय ब्याडमिन्टन कम्युनिटीलाई नेपाली ब्याडमिन्टन कम्युनिटीले चुनौती दिदै आएको छ ।
प्रदेश १ का प्रतिभावान् खेलाडी दिवस शंकर र एसिया जवेगुको उपस्थितिले नेपाली ब्याडमिन्टन कम्युनिटी बलियो बन्न पुगेको प्रशिक्षक सुमन उदयले जानकारी गराए ।