काठमाडौं । झट्ट हेर्दा समुद्रमाथि पुल बनेजस्तो देखिन्छ। डबर डेकर पुलमा दुई डेक (तला) मा चार लेनको हाइवे छ। तल्लो डेकमा रेलवेको एक लाइन छ। दक्षिण एसियाकै यो नमुना पुल भएर दैनिक २४ हजारभन्दा बढी सवारी साधन वारपार गर्छन्। तल रेल गुडेको देख्न सकिनेछ।
यो दृश्य हो बंगलादेशको गंगा÷जमुना नदीमाथि बनेको पुलको। विश्वको ध्यान तानिरहेको यो भौतिक संरचना नेपाली इन्जिनियरसमेतको सहभागितामा निर्माण भएको हो। उनी हुन् डा. हेमनाथ घिमिरे। डा. घिमिरेसहित पुल निर्माणको कन्सल्टिङमा योगदान गरेका विज्ञहरूको २४ मुलुकका झन्डा पुलमा फहराइएको छ।
पुल उद्घाटन कार्यक्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद भावुक देखिन्थिन्। हसिनाको मन्तव्य सुन्दै गर्दा इन्जिनियर डा. घिमिरे झनै भावुक भए। ऐतिहासिक पुलमाथि फहराइरहेको नेपाली झन्डामा नजर डुलाए। ‘त्यो बेला म निकै भावविह्वल भएँ। त्यो क्षणको व्याख्या गर्न शब्दको अभाव महसुस गर्छु’, डा. घिमिरेले।
इन्जिनियरिङ क्षेत्रमा यो पुललाई चमत्कारका रूपमा लिइएको छ। बहुउद्देश्यीय परियोजनाअन्तर्गत झन्डै साढे ४ खर्ब नेपाली रुपैयाँमा यो संरचना बनेको हो। यसले ९ म्याग्नेच्युडसम्मको भूकम्प थेग्न सक्ने जनाइएको छ। यसको लागत नेपालको वार्षिक बजेटको एक चौथाइ छ। अन्तर्राष्ट्रिय रेकर्ड कायम गरेको पुल निर्माणमा अपनाइएको प्रविधि (फ्रिक्सन पेन्डुलम बियरिङ्स) अत्याधुनिक छ। यसको रोचक पाटो यतिमा मात्रै सकिएको छैन।
लमजुङका डा. घिमिरे भूगर्भ र सुरुङ विज्ञका रूपमा खटिएका थिए। त्यहाँ माटोको अध्ययन गरे। त्यही उनको विज्ञताका कारण पुलमा नेपाली झन्डा फहराएको हो। अस्टे«लियाको स्मेक (स्नोइङ माउन्टेन इन्जिनियरिङ कर्पोरेसन)मा जोडिन पुगेका घिमिरे १० वर्षअघि बंगलादेशमा जियोटेक्निकल इन्जिनियरका रूपमा पुगेका थिए। सुरुका तीन वर्ष उनी रेल निर्माण परियोजनामा आबद्ध भए। त्यसमा काम गर्दागर्दै पद्मा परियोजनाको कन्स्ट्रक्सनमा काम सुरु भयो। स्मेकले नै उनलाई पद्मा परियोजनामा जिओटेक्निकल विज्ञका रूपमा काम गर्न अनुरोध गर्यो।
‘पद्माजस्तो राष्ट्रिय गौरवको परियोजनामा जोडिन पाउँदा नकार्ने कुरै भएन’, उनले भने। यस परियोजनामा १ हजारभन्दा बढी बंगलादेशी इन्जिनियर संलग्न छन्।
डा. घिमिरे २०१४ को नोभेम्बरदेखि काममा संलग्न भएका हुन्। जियोटेक्निकल इन्भेस्टिगेसन (जमिनमुनिको सतहको अवस्था)बारे उनले स्ट्रक्चर इन्जिनियर एवं डिजाइनरहरूलाई जानकारी दिए। सन् २०१४ को अक्टोबरदेखि व्यवस्थापन र पूर्वाधारको काम सुरु भयो। पुलको मुख्य काम २०१५ मा सुरु भएको उनले बताए। ८ वर्षमा निर्माण सम्पन्न भएको उक्त ब्रिजको उद्घाटन सकिएको छ। ‘मुख्य काम सकियो। सानातिना काम मात्र बाँकी छ,’ उनले भने।
लागत साढे ४ खर्ब
बंगलादेशले साढे ४ अर्ब लागतको पुल बनाउन अन्तर्राष्ट्रिय दातृ निकायले सहयोग गर्न हिचकिचाए। विश्व बैंकले सन् २०१२ मा पुल परियोजनाको ऋण सम्झौता रद्द गरेको थियो। त्यसपछि एसियाली विकास बैंक र जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका पनि पन्छिए। मुलुकका अर्थशास्त्रीले पनि दाताको सहयोग नलिई बनाउन नसकिने सुझाएका थिए। इन्जिनियर डा. घिमिरेका अनुसार प्रधानमन्त्री हसिनाको दूरदर्शिता एवं अठोटको परिणाम पद पुल सम्भव भएको हो।
पुल निर्माण र नदी नियन्त्रणको लागत ३.८७ बिलियन (४ खर्ब ४९ अर्ब ९० करोडभन्दा बढी) छ। पुल ६.१५ किलोमिटर लामो छ। दुई खम्बाको बीचको दूरी १ सय ५० मिटर छ। हरेक खम्बामा जमिनमुनि ६ वटा छड्के पाइल (र्याकिङ पाइल) छ। जुन जमिनमुनि १ सय २२ मिटरसम्म छ। यो विश्वको सबैभन्दा गहिरो पिलर हो।
‘एक छेउबाट हेर्दा त हामीलाई समुद्र जस्तो लाग्न सक्छ। मुख्य पुल ६ किलोमिटर र त्यसको दुई तिरको अप्रोचहरू जोड्दा करिब साढे ९ किलोमिटर जति छ,’ उनले भने। पश्चिम बंगालको कलकत्ताबाट गंगा नदी ढाका प्रवेश गर्छ। जसलाई बंगलादेशको ढाकामा पद्मा भनिन्छ। आसामबाट आउने ब्रह्मपुत्र पनि बंगलादेश प्रवेश गर्छ। जसलाई जमुना भनिन्छ। गंगा र जमुना मिलेपछि पनि पद्माकै नामले चिनिन्छ।
रेलवे लिंकको काम हुँदै
पद्मा रेल लिंक भन्ने अर्को परियोजना छ। ढाकाबाट दक्षिण–पश्चिम जाने रेल लिंकको काम सुरुवात भइसकेको छ। यो पुलले बंगलादेशको दक्षिण–पश्चिम भू–भागलाई जोड्नेछ। ‘आवतजावत गर्न कठिनाइ थियो। विभिन्न दुर्घटना पनि हुन्थे। नदी पार गर्न पहिला ६ घण्टा लाग्थ्यो,’ घिमिरेले भने।
दक्षिण–पश्चिमी भेगका २१ जिल्लाका बासिन्दाले पुल निर्माणपछि राहत पाएका छन्। बंगलादेशी जनता शेख मुजिबुर रहमान (प्रधानमन्त्री शेख हसिनाका पिता) लाई पनि स्मरण गर्छन्। पाकिस्तानबाट बंगलादेशलाई छुट्टै राष्ट्र बनाउन नेतृत्व गरेका बंगलादेशी नागरिक भन्छन्, ‘पिताले राष्ट्र दिए। छोरीले (पद्मा ब्रिज) पुल दिइन्।’
को हुन् इन्जिनियर डा. घिमिरे ?
लमजुङको मस्र्यांदी–६ मा जन्मिएका डा. घिमिरे जिओटेक्निकल इन्जिनियर हुन्। ५६ वर्षीय डा. घिमिरेको बसोेबास भने चितवनमा छ। गाउँकै तत्कालीन चन्द्रोदय निम्न माविमा पढे। स्कुलमा उनी कहिले कक्षा प्रथम त कहिले स्कुलभरिमै प्रथम भए। १० वर्षको उमेरसम्म बाहुन डाँडामा बिताए। जिल्लास्तरीय परीक्षामा उत्कृष्ट भएपछि छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा पढ्न पाए। कक्षा ४ बाट १० सम्म पूर्ण छात्रवृत्तिमा बूढानीलकण्ठ स्कुलमा पढ्ने मौका पाए।
२०३९ सालमा प्रथम श्रेणीमा एसएलसी गरे। एसएलसी दिएपछि बिदाको समयमा गाउँकै स्कुलमा ६–७ महिना पढाए। अमृत साइन्स कलेजमा आईएससी पढे। त्यसपछि शिक्षा मन्त्रालयमा कोलम्बो प्लानअन्तर्गत इन्जिनियरिङ छात्रवृत्ति पाए। खानी विधामा भारतको बंगाल इन्जिनियरिङ कलेज (इन्डियन इन्स्टिच्युट अफ इन्जिनियरिङ साइन्स एन्ड टेक्नोलोजी) कलकत्तामा पढे। चार वर्षको अध्ययन सकेपछि लोकसेवा परीक्षा उत्तीर्ण गरे। २०४८ सालमा खानी तथा भू–गर्भ विभागमा इन्जिनियरका रूपमा नियुक्ति पाए। जागिरकै क्रममा स्नातकोत्तर तहका लागि एसियन इन्स्टिच्युट अफ टेक्नोलोजि (एआइटी)जीमा छात्रवृत्ति पाए। चट्टान र माटोको विषयमा अध्ययन गरे।
स्नातकोत्तर सकेपछि खानी विभागमा फर्केर आए। तर, आफ्नो विज्ञताअनुसारको काम पाउन सकेनन्। २०५४ मा राजीनामा दिए। टनेलिङमा काम गर्न थाइल्यान्डको बैंकक पुगे। दुई वर्ष काम गरेका घिमिरेले जापानमा पीएचडी गर्न छात्रवृत्ति पाए। जापान सरकारको छात्रवृत्तिमा होक्काइडो युनिभर्सिटिबाट चट्टानको प्रकृतिका विषयमा विशेष अध्ययन गरे। ‘चार कक्षादेखि पीएचडीसम्म छात्रवृत्तिमा अध्ययन गर्ने मौका मिल्यो,’ उनले खुसी व्यक्त गरे। पीएचडी सकेपछि स्वदेश फर्किए। मुग्लिन–नारायणघाट सडकखण्डमा टेक्निकल प्रोजेक्ट म्यानेजरका रूपमा काम गरे। त्यसपछि शर्मा एन्ड कम्पनीमा आबद्ध भएर मेलम्ची खानेपानीको प्रवेश मार्गको निर्माणको काममा संलग्न भए।
अस्ट्रेलियाको स्मेक (स्नोइङ माउन्टेन इन्जिनियरिङ कर्पोरेसन)मा जोडिन पुगे। स्टिमोरमा अफगानिस्तान सडक निर्माणमा आबद्ध भए। त्यसपछि मलेसियामा झन्डै दुई वर्ष रेल मार्गको सुरुङको काममा संलग्न भए। त्यसपछि लाओसमा हाइड्रोपावरमा काम गरेको अनुभव छ। लमजुङ विद्युत् विकास कम्पनीमा जनरल म्यानेजरका रूपमा काम गरे। डा. घिमिरे झन्डै २ महिना जिओटेक्निकल इन्भेस्टिगेसनका लागि अझैं २ महिना बंगलादेश बस्ने योजना छ। त्यसपछि स्वदेश फर्कने तयारीमा छन्।
अन्नपुर्ण पाेष्ट