ताप्लेजुङ । गठबन्धनको पुर्व निर्धारित सहमति बिपरित जिल्ला समन्वय समिति ताप्लेजुङको प्रमुख पदका लागि गठबन्धनका तर्फबाटै दुईजनाको उम्मेदवारी परेको छ ।
यसअघि गठबन्धनमा नेकपा माओवादी केन्द्रलाई जिसस प्रमुख पद दिनेगरि सहमति भएपनि नेकपा एकिकृत समाजवादीले पनि प्रमुख पदमा उम्मेदवारी दिएको हो । शनिवार दिउँसो नेकपा माओवादी केन्द्रका तर्फबाट गंगाराम शंकर र गठबन्धन कै नेकपा एकिकृत समाजवादीका छिरिङ लामाले मनोनय दर्ता गराएका हुन ।
माओवादीले भने प्रदेश कमिटि सचिवालय सदस्य मिङ्मा डण्डु शेर्पालाई गठबन्धनका तर्फबाट प्रमुखको उम्मेदवार बनाउने तयारी गरेका थिए । तर दिउँसो २ बजे नै शंकरले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए । शंकरको प्रस्तावक र समर्थकमा मैवाखोला गाउँपालिका अध्यक्ष तथा माओवादी केन्द्रका जिल्ला सह–ईन्चार्ज विजय प्रकाश वनेम र सोहि गाउँपालिकाकी उपाध्यक्ष कमल कुमारी लिम्बू रहेका छन् । कमल कुमारी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित उमेरदार हुन् । यता शेर्पाले पनि प्रदेश कमिटिबाट अध्यक्ष हर्कबहादुर नेम्बाङ ‘मिङ्सो’ र सचिव गणेश उप्रेती ‘सुशील’ द्धारा हस्ताक्षरिक टिकट ल्याएका थिए ।
तर गत स्थानीय तहको निर्वाचन प्रयोजनका लागि ल्याईएको टिकटको प्रयोग गरेर शंकरले वनेम र लिम्बूको समर्थनमा सुटुक्क मनोनयन दर्ता गराएका थिए । ‘हामीले पार्टीको तर्फबाट मिङ्मा डण्डु शेर्पालाई जिसस प्रमुखको उम्मेदवार बनाउने तयारी गरेका थियौँ । टिकट पनि उहाँले नै ल्याउनु भएको थियो ।’ नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक विष्णूकुमार हाङवाङले भने ‘तर गत स्थानीय तहको निर्वाचन प्रयोजनका लागि तयार पारिएको टिकटको दुरुपयोग भयो ।’
शंकरले मनोनयन दर्ता गराएको थाहा पाएपछि गठबन्धनमा खैलाबैला भएको थियो । जस अनुसार नेपाली कांग्रेशको समेत सर्मथनमा नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका छिरिङ लामालाई प्रमुख पदको उम्मेदवार बनाउने सहमति गरे । यता नेकपा एमालेको तर्फबाट भने घनेन्द्र मादेनले मनोनयन दर्ता गराए । उनी यसअघिका पनि जिल्ला समन्वय समिति प्रमुख हुन् ।
उपप्रमुख निर्विरोध
यता उपप्रमुख पदमा भने नेपाली कांग्रेसका कृष्ण प्रसाद लिङ्खिमको मात्रै उम्मेदवारी परेको छ । सो पदमा नेकपा एमालेले पनि मनोनयन दर्ता गराएन । उपप्रमुख पदमा यसअघि गठबन्धनका तर्फबाट नेकपा एसका लामालाई उम्मेदवार बनाउने तयारी थियो । तर परिस्थिती फरक बनेपछि लामालाई प्रमुखमा र लिङ्खिमलाई उपप्रमुखमा गठबन्धनले उम्मेदवार बनाएको हो ।
प्रमुख पदमा नेकपा माओवादी केन्द्रका तर्फबाट गगांराम शंकर, नेकपा एकिकृत समाजवादीका तर्फबाट छिरिङ् लामा र नेकपा एमालेका तर्फबाट घनेन्द्र मादेनले मनोनयन दर्ता गराए । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका कृष्ण प्रसाद लिङ्खिमले उम्मेदवारी दिए । उता महिला सदस्यमा नेकपा एमालेको तर्फबाट मिना आर्चाय बराल, नेपाली कांग्रेसबाट हेमन्ता मिश्र पौडेल, चन्द्रकला दाहाल र सविता लिङदेनले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस प्रकाश राउतले जानकारी दिए ।
अन्य सदस्यमा नेकपा एमालेका तर्फबाट जयप्रकास लिम्बू र पूण्य प्रसाद खतिवडा, नेपाली कांग्रेसका विष्णू प्रसाद तिवारी, नेकपा एसका रविन्द्र कुमार वनेम र माओवादी केन्द्रका भूपाल मादेनले उम्मेदवारी दिए भने दलित तथा अल्पसंख्यक सदस्यमा नेकपा एमालेबाट बविता विक र माओवादी केन्द्रका सन्तोष राईले मनोनयन दर्ता गराएका छन । ताप्लेजुङमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि १८ जना मतदाता रहेकाछन् । जसमा नेपाली कांग्रेस र नेकपा एमालेका समान ६–६ जना निर्वाचित भएका छन् भने नेकपा माओवादी केन्द्रबाट ५ जना र नेकपा एकिकृत समाजवादीबाट १ जना निर्वाचित भएकाछन् ।