झापा । झापाको बिर्तामोड क्षेत्रमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरको कारोबार गर्ने गिरोहका नाइकेलाई भारी परिमाणको रकमसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिर्तामोडमा ब्राउनसुगरको कारोबार गर्ने बिजेनसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक जना पाँचथरका एक युवक पनि छन् ।
झापाको बिर्तामोडमा लागुऔषध ब्राउनसुगर कारोबार गर्ने दुई जना पक्राउ परेका हुन् । प्रहरीले उनीहरूको साथबाट १६ ग्राम ब्राउनसुगर बरामद गरेको छ । यस्तै, नगद २ लाख ८४ हजार ७ सय रुपैयाँ पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
ब्राउनसुगरको कारोबार गर्ने बिर्तामोड नगरपालिका ५ निवासी ४६ वर्षीय बिजेन राजवंशी र पाँचथर जिल्ला रानीटारका २२ वर्षीय सुजन गुरुङ पक्राउ परेको प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशी बिक्रेता र गुरुङ प्रयोगकर्ता हुन् ।
इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बुधबार दुवै जनालाई बिर्तामोड ५ सुकुम्वासी टोलबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनी राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।