सरला रेग्मी,
तेह्रथुम,संक्राती । तेह्रथुम आठराई गाउँपालिका संक्राती बजारकी कल्पना इङनामलाई खानेपानी मात्र आए हुने थियो भन्ने उनको चाहाना छ । चुनाव आयो गयो तर सर्वसाधारणको दुख उस्तै छन् । धेरै ठूलो आशा उनिहरुसँग केही छैन, आठराई गाउँपालिकामा पानीको असाध्यै दुख छ । बस पुग्ने गरि पानी आए हुन्छ । कल्पना भन्छिन अब जित्नेले पक्कै पानी ल्याउने छन् । झिनो आशा अझै बाँकी छ ।
आठराई गाउँपालिका ६ चुहानडाडाकी अन्जना आचार्य भन्छिन् – बिकास त बिकास तर बाटो बन्छ नाली बन्दैन यस्तो बिकास के गर्नु ? उनी फेरि थप्छिन– अब चै आउने जनप्रतिनिधिले गर्लान थोरै आशा उनी आफैलाइ दिन्छिन् । सर्वसाधारणका आधारभुत आवस्यकता पनि पुरा गर्न स्थानिय सरकारले यो ५ बर्षमा सकेको छैन । जनप्रतिनिधि फेरिन्छन तर बिकासको रेखा फेरिएको अनुभूति भएको छैन ।
पाँचथर जिल्लासंग सिमाना जोडिएको तेर्हथुम जिल्लाको आठराई गाउँपालिका राजनैतिक पृष्ठभुमि बोकेको गाउँपालिकामा हो । २०७४ सालमा चुनावपछि सिंहदरवार यहि आउँछ र बिकासको गति तिब्र हुन्छ भन्ने धेरैको आशा थियो । जसरी आशा गरिएको थियो त्यो अनुरुप स्थानिय तहले गति लिन सकेन । बिकासको योजना उम्मेद्घार सँग प्रसस्त छ, तर योजना अनुरुप काम नहँुदा स्थानियमा उत्साह घटेको हो कि जस्तो देखिन्छ । स्थानिय भन्छन्, ‘जस्ले जितेपनी गर्ने कसैले होइनन्’ ।
दलहरुको ठूलो सभा गाउँतिर देखिदैन । गाउँ सुनसान छ । कार्यकर्ता र उम्मेद्घारले घरदैलोमा नै समय बिताएको देखिन्छ । सर्वसाधारणमा चासो छ । कपडा पसल र चिया दोकानमा चुनावको सगर्मी छ, तर उत्साह पटकै देखिदैन । चुनाव आउन ५ दिन बाकी हुँदा बिगतको जस्तो माहोल आउने छाटकाट नदेखिएपनी झिनो आशा अझै छ । सरकार परिवर्तन भए सँगै बन्दै गरेको कामपनि रोकिएको हुँदा स्थानिय तहको बिकास नभएको स्थानिय बताउछन् । अघिल्लो चुनावमा भएको प्रतिबद्धता अनुसार काम हुन नसक्दा पनि यो पटक सर्वसाधारणमा उत्साह घटेको हो ।
२०७४ सालको स्थानियतहको निर्वाचनमा स्थानियमा थुप्रै उत्साह थियो । तर यसपटकको निर्वाचनमा स्थानियको उत्सुकतामा कमि आएको देखिन्छ । स्थानिय तहले खासै बिकासको गति नलिएपनी अबको चुनावपछी परिवर्तन होला भन्ने धेरैले आशचै मारेका छैनन् ।
सत्ता साझेदारीले उम्मेद्घार छान्न जति सकस भएको थियो मतदातालाइ मत खसाउन उस्तै सकस हो कि भन्ने मतपत्र बोकेर छलफलमा रहेकाहरुलाइ देखेर अनुमान गर्न सकिन्छ । राजनैतिक दलका नेता तथा उम्मेद्वार चुनाव प्रचारमा खटिएको देखिए पनि सर्वसाधारण आफनै दैनिक काममा व्यस्त देखिन्छन् । कोहि कोहिमा त चुनाब प्रतिको धारणामा पनि परिवर्तन भएको पाइएको छ ।
आठराइ गाउँपालिकामा ७ वटा वार्ड रहेका छन् । जस मध्धे १,२,३,४ नम्बर वडामा गठबन्धनबाट काँग्रेसका वडा अध्यक्षका उम्मेदवार छन् । भने ५ नम्बर वडामा गठबन्धनबाट माओवादका वडा अध्यक्षका उम्मेद्घार छन् । ७ नम्बर वडामा गठबन्धनबाट एकीकृत समाजवादीका वडा अध्यक्षका उम्मेद्घार छन् ।१४ मतदान स्थल रहेको आठराइ गाउँपालिकामा १८ मतदान केन्द्र रहेको छ । १४ हजार १ सय ३० मतदाताले स्थानिय तह निर्वाचनमा भोट खसाउने छन् ।