काठमाण्डौ । नेकपा एमालेका काठमाडौंको मेयर उम्मेदवार केशव स्थापितले निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाएका छन् । गत आइतबार र बिहीबार स्थापितले लगालग विवादास्पद अभिव्यक्ति दिएसँगै आयोगले दुई पटक स्पष्टीकरण सोधेको थियो ।
१५ वैशाखमा एक कार्यक्रममा स्थापितले आफूलाई लागेको मिटू आरोपबारे प्रश्न सोध्दा स्थापितले भनेका थिए, ‘तपाइको फेस नाइस तर थुतुनु भएन ‘ ।
त्यस्तै गत आइतबार पनि एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका अर्का मेयरका उम्मेदवार बालेन शाहलाई लक्षित गर्दै स्थापितले विवादास्पद अभिव्यक्ति दिएका थिए । स्थापितले भनेका थिए, ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ । त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ । युवाहरूले सुनौँ है । मसित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेका थिए । हिजो टिकटक हेरेको त मधेसतिरको साह रहेछ । सुरुवातमै ठग कुरा गर्ने ? दर्तावाला ठग रहेछ । यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ? ‘
स्थापितले बालेनलाई मधेसको मान्छे भनेर काठमाडौंमा आउने आँट किन गर्न नसकेको भन्दै प्रश्न समेत गरेका थिए । उक्त अभिव्यक्तिप्रति आयोगले स्थापितसँग २४ घण्टे स्पष्टीकरण मागेको थियो । स्थापितले दिएको अभिव्यक्तिले निर्वाचन आचारसंहिता २०७८ को दफा ४ (ढ) र खण्ड (थ) मा रहेको व्यवस्था साथै दफा १२ (प) को उल्लंघन भएको आयोगले जनाएको छ ।
स्थापितले आयोगलाई बुझाएको स्पष्टीकरणमा भनेका छन्, ‘महिलाको सम्बन्धबारे स्पष्ट पार्ने क्रममा मैले त्यस्तो बोल्न पुगेको हो । तर, म निर्वाचन आचारसंहिताप्रति प्रतिबद्ध छु ।’ साथै बालेन शाहप्रति गरेको टिप्पणीबारे उनले आयोगलाई स्पष्टीकरण दिने क्रममा भनेका छन्, ‘प्रत्येक जातजाति, भाषाभाषी, धर्मको सम्मान गर्ने व्यक्ति हो म । सम्मान गर्छु । मैले उहाँको (बालेन शाह) मानहानी गर्ने, चरित्रहत्या गर्ने निर्वाचनलाई प्रभाव गर्ने खालको अभिव्यक्ति दिएको होइन । निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्ध छु ।’यस पटकको चुनावमा निर्वाचन आयोगले एउटै उम्मेदवारलाई दुई पटक स्पष्टीकरण सोधेको यो पहिलोपटक हो । शिलापत्रबाट