काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गर्दै छ । आज (बिहीबार) र भोलि (शुक्रबार) बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।
आगामी वैशाख ३० गते सरकारले देशभर एक साथ स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेको छ । आयोगका आयुक्त ईश्वरी पौडेलले एक/दुई दिनभित्र आचारसंहिता लागू गर्ने तयारीमा आयोग जुटेको जानकारी दिए।
मतदानको कति दिन अगावैदेखि आचारसंहिता लागू हुने भन्ने उल्लेख नगरिए पनि आयोगले तोकेको मितिदेखि लागु हुने व्यवस्था ऐनमा रहेको पौडेलले बताए । आसन्न निर्वाचनका हकमा भने करिब पैँतीस दिन अगावैदेखि आयोगले आचारसंहिता लागू गर्न खोजेको हो ।
निर्वाचन आचारसंहिता लागू भएसँगै विभिन्न प्रतिबन्ध लगाइने छ भने निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गर्न सरकारले पाउने छैन ।