पाँचथर । पाँचथर जिल्लामा राष्ट्रिय परिवर्तन पार्टीको कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ । पार्टीका पाँचथर जिल्ला संयोजक टेकबहादुर सुब्बाले रिबन काटेर कार्यालय उद्घाटन गरेका हुन् ।
फिदिम बजारको ठाडो लाइनस्थित नारायण भट्टराईको घरमा नयाँ कार्यालय स्थापना गरिएको हो । उद्घाटन कार्यक्रममा पार्टीका जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक सुब्बाले जिल्लामा पार्टी संगठन विस्तारलाई तीव्रता दिइने र जनताको पक्षमा काम गर्ने अठोट व्यक्त गरे ।
उनले राजनीतिमा देखिएको असन्तुष्टि, बेरोजगारी, भ्रष्टाचार र सामाजिक अन्यायको अन्त्यका लागि नयाँ सोच र नयाँ नेतृत्व आवश्यक भएको उल्लेख गर्दै राष्ट्रिय परिवर्तन पार्टी त्यही उद्देश्यका साथ अघि बढेको बताए । “अबको राजनीति जनतामैत्री हुनुपर्छ,” सुब्बाको भनाइ थियो ।
यसै अवसरमा ‘जेन्जी युनाइटेड मुभमेन्ट परिवर्तन’ ले राष्ट्रिय परिवर्तन पार्टीलाई औपचारिक समर्थन जनाएको छ । सो मुभमेन्ट यही पार्टीमा समाहित भएको जानकारी जेन्जी युनाइटेड मुभमेन्ट परिवर्तनका राकेश राईले दिए । उनले नयाँ पुस्ताको सोच र अभियानलाई राष्ट्रिय स्तरको राजनीतिसँग जोडेर परिवर्तनको यात्रामा अघि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहभागी वक्ताहरूले वैकल्पिक राजनीतिक धारको आवश्यकता औंल्याउँदै राष्ट्रिय परिवर्तन पार्टीले युवालाई राजनीतिमा आकर्षित गर्ने अपेक्षा व्यक्त गरे । पार्टीले आगामी दिनमा संगठन विस्तार, प्रशिक्षण, जनसंपर्क तथा सामाजिक रूपान्तरणसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।




