पाँचथर । दिपावली पर्वको अवसरमा सार्वजनिक शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राख्न जिल्ला प्रशासन कार्यालय, पाँचथरले विशेष निर्देशन जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालयले असोज ३० गते जारी गरेको सूचनामा पर्वको उत्सव शान्तिपूर्ण र मर्यादित बनाउन विभिन्न प्रतिबन्धहरू लागू गरिएको उल्लेख छ।
प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलद्वारा हस्ताक्षरित सूचनाअनुसार हतियार, पटाका, आतसबाजीजस्ता विष्फोटक पदार्थको ओसारपसार, बिक्री–वितरण तथा प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ। सोही अनुसार मदिरा बिक्री तथा सेवनमा पनि रोक लगाइएको छ।
सूचनामा उल्लेख छ कि देउसी–भैलीजस्ता सांस्कृतिक कार्यक्रमहरू साँझ ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ। प्रशासनले राति हुने सम्भावित अशान्ति र असहज परिस्थिति नियन्त्रणमा राख्न नागरिकहरूलाई संयमित रहन र कानुनको पालना गर्न अनुरोध गरेको छ।
प्रशासनले चेतावनी दिँदै भनेको छ, “निर्देशन विपरीत कुनै पनि कार्य गरे कानुन बमोजिम कारबाही गरिनेछ।”