काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन-वे, ट्याक्सी-वे तथा एप्रोन (पार्किङ) निर्माणका लागि एक अर्ब २३ करोड ७६ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ।
प्राधिकरणले आर्थिक वर्ष २०७९/०८० का लागि कुल चार अर्ब ८५ करोड रूपैयाँ बजेट ल्याएको छ। यसमध्ये पुँजीगत खर्चतर्फ २६ अर्ब ८२ करोड रूपैयाँ विनियोजन गरेको छ।
अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलको स्तरोन्नति, टर्मिनल भवन निर्माण लगायत संरचना निर्माण प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। जसअनुसार विभिन्न विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि मात्र प्राधिकरणले एक अर्ब ५० करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।
त्यस्तै प्राधिकरणले धावनमार्ग विस्तार, ट्याक्सी-वे ओभर-ले र विमानस्थल सुदृढीकरण गर्न मुलुकभर सञ्चालनमा रहेका विभिन्न विमानस्थलका लागि बजेट छुट्याएको छ। जसअनुसार ताप्लेजुङको सुकेटार विमानस्थलमा धावनमार्ग विस्तारका लागि यस वर्ष ७० करोड बजेट छुट्याइएको छ। यो विमानस्थलको धावनमार्गको काम आर्थिक वर्ष २०७५/०७६ बाट निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ।प्राधिकरणले ताप्लेजुङ विमानस्थललाई विमानस्थलमा चेनलिंक दुई करोड रूपैयाँ विनियोजन गरेको छ।




