पाँचथर । राष्ट्रिय जनसाँस्कृतिक महासंघ पाँचथरको दोश्रो जिल्ला अधिवेशन बिभिन्न साँस्कृतिक कार्यक्रमसहित बिहिबार फिदिममा सम्पन्न भएको छ ।
च्याब्रुङ,डम्फु सेलो, झाँकीहरु सहित जिल्लाका विभिन्न जातजातिका गायन, नृत्य अभिनय तथा साँस्कृतिक कार्यक्रमहरु सहित अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले सरस्वती दुमी राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवेन्द्र सक्तेन र पवित्रा प्रयत्न, सचिवमा मिलन विश्वकर्मा, सहसचिवमा केशव खेताले र कोषाध्यक्षमा उदय सावदेन अपेक्षा रहेका छन् । यस्तै कार्यसमितिका सदस्यहरुमा संघर्ष खतिवडा, लालअञ्जान सम्बाहाम्फे, चन्द्रकला अधिकारी, यौवन थापा मगर, निरोज ठाकुर, केशर माङयुङ, जीवन श्रेष्ठ र मिक्तोक जबेगू निर्वाचित भएका छन् ।
राष्ट्रिय जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य खगेन्द्र राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पाँचथर जिल्ला इन्चार्ज समेत रहनुभएका प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारी, एमाले प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य आशारत्न जबेगू, प्रदेश कमिटीका सदस्यहरु करुणा राई र भूमिका सुब्बा, एमाले पाँचथरका सचिव एवं जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, एमाले पाँचथरका उपसचिव पृथ्वी लावती लगायतको समेत उपस्थिति थियो ।
निवर्तमान अध्यक्ष डीएम कन्दङ्वाको अध्यक्षतामा सम्पन्न उत्तआयोजित अधिवेशनले जिल्ला सल्लाहकार, प्रदेश तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु समेत चयन गरेको छ । उद्घाटन कार्यक्रममा साहित्यिक तथा साँस्कृतिक क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, कला साहित्य तथा संगीतको क्षेत्रमा क्रियाशील जिल्लाका कलाकार तथा साहित्यकारहरुको सहभागिता थियो ।