पाँचथर । कार्यसम्पादन मूल्याकंनमा याङवरक गाउँपालिका पहिलो नम्बर देखिएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनमा पाँचथरका जिल्लाका ८ स्थानीय तहमध्ये याङवरक गाउँपालिका पहिलो नम्बरमा देखिएको हो ।
प्रतिवेदनमा याङवरक गाउँपालिकाले सबैभन्दा बढी ८९ अकं पाएको छ । सबै भन्दा कम हिलिहाङ गाउँपालिकाले ६१.५ अंक प्राप्त गरेको छ । यस्तै फिदिम नगरपालिकाले ७४.७५, फालेलुङ गाउँपालिकाले ७३ अंक, मिक्लाजुङ गाउँपालिकाले ७५.७५ अंक, तुम्बेवा गाउँपालिकाले ७४.५ अंक, फाल्गुनन्द गाउँपालिकाले ७४.५ अंक र कुम्मायक गाउँपालिकाले ६२ अंक प्राप्त गरेका छन् ।
आयोगले कार्यसम्पादन सूचक मूल्यांकनबाट प्राप्त अंक र तथ्यांक सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको सूचकअनुसार संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ । सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांकसमेतको आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको हो ।
सो मूल्यांकन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियो । पालिकाले समयमै बजेट पेस गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, स्थानीय तहले करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम सञ्चित कोषमा जम्मा गरे/नगरेको, आउँदो आर्थिक वर्षको लागि आय/व्ययको प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको, बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी हरेक वर्षको कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलगायतका विषयमा मूल्यांकन गरेको थियो ।
त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सूत्रको प्रयोग, आवधिक योजना तय गरे/नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसूति संख्यालगायत शीर्षकका सूचकका आधारमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो ।
आयोगले नेपालको संविधानको धारा २५१ को उपधारा (१) को खण्ड (ख) बमोजिमसंघीय सञ्चित कोषबाट प्रदेश तथा स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिस गर्दा वित्त आयोग ऐन, २०७४ को दफा (३)को उपदफा (२) बमोजिम प्रदेश तथा स्थानीय तहको कार्यसम्पादनलाई आधार लिई कार्यसम्पादनमा आधारित वित्तिय समानीकरण अनुदानको रकम सिफारिस गर्दै आएको छ ।
यही मूल्यांकनका आधारमा आयोगले आर्थिक वर्ष २०७९/८० का लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ ।