दाङ । तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख माया शर्मा आचार्य कोरोना संक्रमण भएर होम आइसोलेसनमा थिइन् । बुधबार नेकपा एमालेको पदाधिकारी बैठकले भने एकीकृत समाजवादी प्रवेश गरेको भन्दै उनलाई निस्कासनको निर्णय गरेको सार्वजनिक भयो । प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले नै निर्णय सुनाउने क्रममा तुलसीपुरकी उपप्रमुखलाई निस्कासन गरेको भनिएको छ ।
माया भने फोन अफ गरेर सुतेकी थिइन् । ‘त्यो दिन अलि बढी विरामी भएर मोबाइल अफ गरेर दिनभर सुतेकी थिएँ । त्यसैले निस्कासनबारे बेखबर थिएँ,’ भन्छिन् ।
साँझ एमाले महासचिव शंकर पोखरेलले मायाको छोरालाई फोन गरेपछि उनले थाहा पाइन् । निस्कासन गरिएको सूचना भूलबस भएको भन्दै पोखरेलले मायाका छोरालाई, आमालाई नआत्तिनू भनेर सम्झाउन आग्रह गरेका थिए ।
‘निर्णय सार्वजनिक भएलगतै महासचिवजीले मलाई निर्णय सुनाउँदा त्रुटिपूर्ण भयो भनेर फोन गर्न खोज्नु भएको रहेछ’ उनले भनिन्, मेरो फोन दिनभर अफ भएकाले सम्पर्क हुन सकेन छ ।’