पछिल्लो तीन दिनदेखि नेपालमा कोरोना संक्रमण दर निरन्तर घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार तीन दिनमा संक्रमण दर १२ प्रतिशतले घटेको छ।
सोमबार संक्रमण दर ४८.६७ प्रतिशत रहेकोमा आज ३६.७६ प्रतिशतमा झरेको छ। शुक्रबार कुल २१ हजार ८०८ जनाको परीक्षण गरिएकोमा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको छ। जबकी गत सोमबार २१ हजार २०१ जनाको परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको थियो। त्यो भनेको दुई जनाको परीक्षण गर्दा झन्डै एक जनामा संक्रमण पुष्टि हुनु हो।
इपिडियोमोलिजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर कृष्णप्रसाद पौडेल नेपालमा कोरोना संक्रमण दर क्रमिक रूपमा घट्दै गएको बताउँछन्। उनका अनुसार पछिल्लो समय भीडभाडजन्य गतिविधि कम भएकाले संक्रमण दर घट्दै गएको हो।
जोर-बिजोरको धेरै आलोचना भए पनि आवगमन कम भएको हो। ठूला भेलाहरू पनि कम भएकाले त्यो कुराले काम गर्यो,’ निर्देशक पौडेल भन्छन्, ‘अर्को कुरा परीक्षण कम भए पनि गरिएकामध्येमा पोजेटिभ देखिने दर घट्दै गएको छ।’
उनले सरकारको प्रक्षेपण पनि यो सातामा संक्रमण उत्कर्षमा पुगेर घट्दै जाने रहेको जनाए।
‘सरकारको प्रक्षेपण पनि यही साता उत्कर्षमा पुगेर कम हुँदै जान्छ भन्ने थियो। त्यसैले अब ठूला भेलाहरू भएनन् भने योभन्दा ह्वात्तै बढी नजाला,’ उनले भने।
निर्देशक पौडेलले अहिलेसम्म अस्पतालको स्थिति पनि ठिकै रहेको हुँदा खराब स्थितिको सामना गर्नु नपर्ने जनाए। त्यसका लागि सर्वसाधरणले जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्नुपर्ने उनको भनाइ छ। आवगमनको यही स्थिति केही समय रहे संक्रमण दर विस्तारै घट्दै जाने उल्लेख गर्दै पौडेलले सर्वसाधरणले यो कुरालाई कडाइका साथ पालना गर्नुपर्ने बताए।
अहिल्यै नै संक्रमण घट्दै गएको भनेर ढुक्क हुने स्थिति भने नरहेको उनको भनाइ छ। किनभने अहिले संक्रमण घट्दै जानुमा अन्य पनि कारण रहेको उल्लेख गर्दै पौडेलले भने, ‘अझै पनि धेरै जनाको परीक्षण भएको छैन। कम्तीमा ५० देखि ६० हजार जनाको परीक्षण गर्यौं भने ३५ देखि ४० प्रतिशत संक्रमण दर अझै पनि छ। त्यो भनेको थोरै होइन। अर्को कुरा अहिले धेरै जनाले एन्टिजेन परीक्षण गरेका छन् र त्यो सबैको रिपोर्ट भएको छैन।’
अहिले घरघरमा रूघाखोकीका बिरामी रहे पनि सबैले परीक्षण नगर्ने हुँदा संक्रमणको ठ्याक्कै अवस्था कस्तो हो भनेर भन्न नसकिने निर्देशक पौडेलले बताए। जति परीक्षण गरिएका छन्, त्यसबाट पोजेटिभ हुने संख्या घट्दै गएको उल्लेख गर्दै उनले अब संक्रमण दर घट्दै जाने विश्वास व्यक्त गरे।
यही स्थितिमा संक्रमण दर घट्दै गए माघ अन्तिमदेखि अवस्था राम्रो हुने देखिन्छ। त्यसका लागि भीडभाडजन्य गतिविधिलाई रोक लगाउनुपर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। सरकारले भीडभाडजन्य गतिविधिलाई कडाइ गर्न आदेश जारी गरे पनि त्यसको पूर्ण पालना हुन नसक्दा संक्रमणको जोखिम कायमै रहेको उनीहरूको भनाइ छ।
नेपालमा लागि माघ तेस्रो सातासम्म संक्रमणको जोखिमको हिसाबले अप्ठेरो स्थिति रहेको हुँदा यो बीचमा झन् सतर्कता अपाउनुपर्ने चिकित्सकहरूको सुझाव छ।
सरकारले संक्रमण जोखिमलाई मध्यनजर गर्दै सवारी आवगमनमा लगाइएको जोर-बिजोर प्रणालीको भने सर्वत्र आलोचना भएको छ। जोर-बिजोरले संक्रमणको ‘चेन ब्रेक’ गराउने भन्दा पनि झन् भीडभाड बढाउने भन्दै चिकित्सकहरू नै त्यसको विरोधमा उभिएका छन्। त्यसैले अब जोर-बिजोर प्रणालीलाई के गर्ने भनेर नयाँ टुंगो गर्न उपत्यकाका तीनवटै जिल्ला सिडिओहरूले आज छलफल गर्ने भनिएको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले केहीबेरमा छलफल सुरू हुने भन्दै यसबारे निर्णय आउने जनाए।