पाँचथर।प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति पाँचथरद्वारा बिहीबार एक कार्यक्रमका बीच शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा पाँचथरका अग्रज पत्रकार सहमान विश्वकर्मा र शान्तिदेवी राईलाई अग्रज पत्रकार सम्मान प्रदान गरी सम्मानित गरिएको छ। यस्तै, क्रियाशील पत्रकारिता पुरस्कारबाट रमेश थापा र उदयमान पत्रकारिता पुरस्कारबाट इवारा जवेगु लिम्बु सम्मानित भएका छन्।
क्रियाशील तथा उदयमान पत्रकारिता पुरस्कारबाट पुरस्कृत दुबै पत्रकारलाई समान रूपमा ५–५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपाल जिल्ला अध्यक्ष मदन थापाले प्रेस चौतारी सधैँ सत्य, निष्पक्ष र जनपक्षीय पत्रकारिताको पक्षमा उभिँदै आएको बताए। उनले अग्रज पत्रकारहरूको योगदानको सम्मान गर्नु र नयाँ पुस्ताका पत्रकारलाई प्रोत्साहन गर्नु संस्थाको मूल उद्देश्य रहेको बताए। यसले जिल्लाको पत्रकारिता थप सशक्त र जिम्मेवार बन्ने विश्वास पनि उनले व्यक्त बताए।
कार्यक्रममा जिल्लाका पत्रकार, सञ्चारकर्मी तथा प्रेस चौतारी पाँचथरका पदाधिकारी र सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।




