पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका आयुर्वेद शाखा फाक्तेपले वडानं.१,नवमीडाँडामा वडा स्तरीय नागरिक आरोग्य समुहलाई स्वस्थ जीवनशैली,योग एवम स्थानिय जडिबुटीको प्रयोग सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम हिजो सम्पन्न भएको छ।
स्थानिय नागरिकलाई आयुर्वेद,योग तथा जडिबुटिको माध्यमबाट शारीरिक र मानसिक रुपमा स्वस्थ शरीर,सकारात्मक सोच र व्यक्तित्व विकास गर्न साथै नसर्ने रोगहरुको प्रकोपलाई न्यूनिकरण गरी स्वस्थ समाज निर्माण गर्न सहयोग पु¥याउँने उद्धेश्यले नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा स्थानिय स्तरमा पाइने जडिबुटीहरुको पहिचान,उपयोगिता,मात्रा प्रयोग,स्वस्थ जीवनशैली,सन्तुलित आहार, आयुर्वेद स्वास्थ्य संस्थाबाट दिइने स्वास्थ्य सेवा तथा रोग अनुसार योगा र ध्यान सम्बन्धी छलफल तथा प्रयोगात्मक अभ्यास गरिएको थियो ।
फाल्गुनन्द १ का वडाध्यक्ष होम प्रसाद आङ्देम्बेको अध्यक्षतामा सम्पन्न उत्त कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरु,आमा समुहका प्रतिनिधीहरु,जननिर्वाचित प्रतिनिधीहरु,समाजसेवी,वुद्धिजिवी,सञ्चारकर्मी लगायत २५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण फाल्गुनन्द गाउँपालिका आयुर्वेद स्वास्थ्य शाखा प्रमूख वरिष्ठ कविराज निरिक्षक राजु पराजुली,वैद्य प्रमोद कुमार यादव र सहजकर्ता बुद्ध सिं कार्कीले गरेका थिए ।