मधुराज केरुङ
पाँचथर ।
अक्करे भिरमाथि
मुस्किलले जीवनयात्रा खोजिरहेको
बनलहराजस्तै
या पत्थरहरू फुटाएर
जर्बजस्त उम्रिरहेको पीपलको रुखजस्तै
म त संघर्षको महामैदानमा निस्किएको छु ।
अझै अनवरत बगिदिन्छु
अरुण, तमोरझैँ झन्
हुनहुनिँदै बहिदिन्छु शिशिरको पवनझैँ ।
मलाई मन पर्दैन
अनुहारको आकाशबाट जूनघाम अस्ताएको
मलाई निको लाग्दैन
हृदयमा खुसीका मुहानहरू सुकेको
डढेलोले आधी चपाएर विद्रुप बनाएका
चिलाउनेका ठुटाहरूजस्तो
या भदौको बाढीले किनारा लगाइराखेका
बगरेठहरूजस्तो
बाटोमाथिबाट बाटै छेक्न खस्न लागेको
पहिरो वा
खेतबारीको अन्तिम डिलमा उभ्याएको
बुख्याँचाजस्तो जिन्दगीहरूसँग
घृणा लाग्छ, पश्चात्ताप लाग्छ ।
बालुवाजस्तो निरस जिन्दगी र
आफ्नै खुट्टाहरूले अल्झिहिँडेको निकम्मा
मानिस
भाले झार्ने खेलको गन्तव्यजस्तो यात्रा
आँखाभरि फुलाङगो सपना बोकेर बाँचेको
मानिस
अस्थिपञ्जरहरूमा मांसलको भारी मात्र
बोकिहिँड्ने जिन्दगीहरूसँग
मलाई त टिठ लागेर आउँछ, अस्पट्ट लागेर आउँछ ।
प्रत्येक जिन्दगीहरू त
सृष्टिको अनमोल वरदान हुन् ।
यसलाई त
प्रेमपूर्वक बाँचिदिनुपर्छ
इन्द्रेणी बुट्टाहरू कपिदिनुपर्छ
विचारको सानढुङ्गामा उध्याएर
सधैँभरि धारिलो बनाइराख्नुपर्छ ।
माथिमाथि महालोकदेखि
तलतल महातलसम्म
नापेर सम्पूर्ण आयतन ब्रह्माण्डको
छामेर जिन्दगीका चौकोसहरू
प्रत्येक पल कर्मशील भइरहनुपर्छ ।
यहाँ त,
प्रत्येक जिन्दगीहरूले हारेर पनि
जित्ने कोसिस गरिरहनुपर्छ ।
कवि : मधुराज केरुङ