काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा यही पुस २५ गते भारत भ्रमणमा जाने भएका छन् ।
सानो आकारको प्रतिनिधिमन्डलसहित भारत जान लागेका प्रधानमन्त्रीका लागि त्यहाँ उठाउने एजेन्डाको गृहकार्यमा सरकारका मन्त्रालयहरू जुटिरहेका छन् । दुवैतर्फका परराष्ट्र मन्त्रालयबीच आपसी समन्वयमा तयारी भइरहेकाले भ्रमणको औपचारिक घोषणा भइसकेको छैन ।“१० तारिखमा उद्घाटन हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सम्बोधन गर्न जाने भन्ने भएको छ । तर, अहिलेसम्म जाने टिम र मिति तय भइसकेको छैन,” परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बाह्रखरीसित भनिन्, “अहिले मन्त्रालयसहित सरोकारवाला निकायहरूबाट तयारी भइरहेको छ ।” उनले तयारी पूरा भएपछि औपचारिक रूपमा जानकारी गराइने बताइन् ।
पछिल्लोपटक गएको असार २९ गते प्रधानमन्त्री बनेका देउवाले अहिलेसम्म निजी सचिवालयलाई पूर्णता दिएका छैनन् । प्रधानमन्त्री देउवाका राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकार तथा प्रेस सल्लाहकारसहितका व्यक्तिको नियुक्ति नहुँदा औपचारिक सूचना निजी सचिवालयबाट पनि सार्वजनिक भएको छैन । प्रधानमन्त्रीनिकट नेताहरूका अनुसार प्रधानमन्त्री देउवा २५ गते यहाँबाट नयाँ दिल्ली ‘ट्रान्जिट’ बनाएर सिधै गुजरातको अहमदावाद पुग्नेछन् । त्यहाँ उनले ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्नेछन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीसँग उनको औपचारिक भेटवार्ता पनि गुजरातमै हुनेछ । अहिलेसम्मको तयारीअनुसार उनले सीमा समस्याको समाधान, दुईपक्षीय हितका अन्य विषय र पारवहन थप सहज बनाउने विषय उठाउने बताइएको छ ।