रानिटार । रानीटार मा जारी तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगितामा आज पनि दुई खेल सम्पन्न भएको छ । बिहिबार बराजु रङशाल रानिटारमा भएको पहिलो खेलमा साविक विजेता रेड स्टार एफसी झापा पाँचथर क्लब फिदिममाथि सहज जित निकाल्दै रेड स्टारले सेमिफाइनल यात्रा तय गरेको हो ।

रेडस्टार झापा
झापा ३-० ले विजयी हुदै सेमिफाइनल प्रबेश गरेको हो । रेड स्टारका लागि खेलको २३औँ मिनेटमा पेमा तामाङले गोल गर्दै टिमलाई अघि बढाएका थिए । यस्तै, दोस्रो हाफको ६ मिनेटमा गणेश हेमरमले गोल गर्दै अग्रता दोब्बर बनाए भने मिलन राईले दोस्रो हाफको १२औँ मिनेटमा गोल गर्दै फराकिलो अन्तरबाट टिमलाई सेमिफाइनलमा स्थान सुरक्षित गराउन सफल भए ।
पहिलो र दोस्रो संस्करणको विजेता रेड स्टार झापा यस पटक पनि समूह विजेता बन्दै उपाधि रक्षामा ह्याट्रिक गर्न चाहन्छ । आजको खेलमा झापाका गणेश हेमरम म्यान अफ दी म्याच घोषित भए ।
बिहिबारनै भएको दोश्रो खेलमा पाहुना टोली पाण्डा स्पोर्टिङ क्लब सिक्किमलाई पहिलो खेलमा रोक्दै काठमाडौँको चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । २-१ गोलको कठिन जितबाट चर्च ब्वाइजले बाजी मारेको हो ।
खेलको सुरुवातमै सिक्किमले गोल गरेर अग्रता लिएको थियो । सिक्किमका लागि शुकराज राईले गोल गरेर अग्रता दिलाएका थिए । कडा प्रतिस्पर्धा खेलमा पहिलो हाफमै चर्च ब्वाइजले गोल गरेर खेलमा फर्किएको थियो । चर्च ब्वाइजका लागि कप्तान सोम थापाले बराबरी गोल गरेका हुन् । त्यस्तै, दोस्रो हाफको ६ मिनेटमा विकास थलुङले हेडरमार्फत गोल गर्दै निणर्ायक गोल गरे ।
त्यसपछि पाएको अवसर सदुपयोग गर्न नसक्दा दुवै टोली गोलविहीन बनेका थिए । चर्च ब्वाइजका योगेश गुरूङ म्यान अफ दी म्याच घोषित भए ।

चर्च ब्वाइज काठमाण्डाैं
भोलि (शुक्रबार) झापाको अल इन वान सैनिकविरुद्ध कणर्सिं सोनम मेमोरियल एफसी ताप्लेजुङ पहिलो सेमिफाइनल खेल हुनेछ । भोलि नै अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइजले साविक विजेता रेड स्टार एफसी झापासँग भिड्नेछ । स्वतन्त्र क्लब रानीटारले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल पुस ३ गते हुनेछ । फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र उपविजेता ८० हजारसहित ट्रफी पाउनेछ ।
फाेटाे : साैजन्य न्युज सञ्जाल डट कम