रानिटार ।रानिटारमा जारी तेस्रो फिदिम नगरगोल्डकपमा आज दुई खेल सम्पन्न भएको छ । आज भएको पहिलो खेलमा फराकिलो गोलअन्तरबाट ताप्लेजुङ विजयी बनेको छ । ताप्लेजुङले इलामको योङ ब्वाइज एफसी इलामलाई ५-० गोलअन्तरमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा २ गोल सम्भव भएको थियो । पहिलो हाफको ४ मिनेटमै मनिराज लिम्बूले गोल गर्दै अग्रता दिलाएका थिए । उनैले २२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । त्यस्तै, २८औँ मिनेटमा इलामका तर्फबाट ताप्लेजुङलाई उपहारस्वरुप एक गोल प्राप्त भएको थियो । दोस्रो हाफमा ताप्लेजुङका कप्तान अनुप सेन्दाङले व्यक्तिगत दुई गोल गरे ५-० गोलको फराकिलो अन्तर निकाले । उनले ४४औँ र ६५औँ मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ दी म्याच मनिराज लिम्बू घोषित भए ।
आज भएको दोश्रो खेलमा उत्कृष्ट कमब्याक गर्दै काठमाडौँको पाहुना टोली चर्च ब्वाइज युनाइटेड फिदिम ७ रानीटारस्थित बराजु खेल मैदानमा जारी तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो खेलमा चर्च ब्वाइजले इलामको पशुपति ११ लाई ४-२ गोलअन्तरले पराजित गरेको हो । खेलको सुरुवातमै १- ० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै चर्च ब्वाइजले इलाममाथि बाजी मारेको हो । इलामले खेलको ५ मिनेटमै उत्कृष्ट गोल गर्दै अग्रता लिएको थियो । इलामका लागि शेखर राईले दर्शनीय गोल गरेका थिए ।
पहिलो हाफमा इलामले अग्रता लिएको थियो । तर, चर्च ब्वाइजका सनम भुजेलले दोस्रो हाफको ५औँ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काए । यस्तै, चर्च ब्वाइजका कप्तान सोम मगरले खेलको २९ र ४८औँ मिनेट, विवेक पौडेलले ४१औँ मिनेटमा गोल गर्न सफल भए । इलामका लागि सविन राईले खेलको ५०औँ मिनेटमा गोल गर्दै खेलमा फर्किने प्रयास गरे ।
खेलको म्यान अफ दी म्याच चर्च ब्वाइजका कप्तान सोम मगर घोषित भए । चर्च ब्वाइजले भोलि (बिहीबार) सिक्किमको पाण्डा स्पोर्टिङ क्लबसँग दोस्रो खेल खेल्नेछ भने पहिलो खेलमा झापाको रेड स्टार क्लब र पाँचथर क्लबबीच भिडन्त हुनेछ । स्वतन्त्र क्लब रानीटारले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल पुस ३ गते हुनेछ । फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र उपविजेता ८० हजारसहित ट्रफी पाउनेछ ।