काठमाण्डाैं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन।
बिहान साँढे नौ बजिसक्दासमेत मतदान सुरु नभएको हो। मतदानका लागि प्रतिनिधिहरु बिहान ८ बज्नुअघिदेखि नै मतदान स्थल भृकुटीमण्डपमा पुगेर लामबद्ध भएर बसिरहेका छन्।मतपत्र छाप्न र त्यसमा निर्वाचन अधिकृतको हस्ताक्षर गर्न ढिलाई भएकाले मतदान सुरु हुन ढिलाई भएको हो। बिहान ११ बजेअघि मतदान सुरु नहुने अनुमान गरिएको छ।
निर्वाचन अधिकृतहरू बिहान मतदान स्थलमा पुगेर बसिरहेका छन्। मतदानको लागि राष्ट्रिय सभागृहलाई ‘क’ र ‘ख’ बनाइएको छ भने भृकुटीमण्डपलाई ‘ग’ बनाइएको छ। मतदानमा ढिलाई भएपछि विभिन्न पदमा उम्मेदवार बनेका कांग्रेस नेताहरु अहिले प्रतिनिधिहरुसँग मत माग्न व्यस्त भएका छन्।