पाँचथर । नेपाली काँग्रेस पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं. ‘क’ कार्यसमितिका पदाधिकारीमा भगीश्वर योङहाङ नेतृत्वको प्यानलै विजयी भएका छन् ।
नेपाली काँग्रेस पाँचथर प्रदेशसभा क्षेत्र नं. ख को सभापतिमा मैया श्रेष्ठ लावती विजयी भएकी छन् । ‘क’ भगीश्वर योङहाङ नेतृत्वको प्यानललाई सभापतिका उम्मेद्धार रुपनारायण जबेगुको समर्थन थियो । यता ख को मैया श्रेष्ठलाई अर्का सभापतिका उम्मेद्धार सुरेन्द्रकुमार दहालको समर्थन रहेको थियो ।अहिले सम्पन्न भएको मतगणनाअनुसार श्रेष्ठले २७३ मत प्राप्त गर्दै विजय हाँसिल गरेकी हुन । उनको प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामाले २०९ मत प्राप्त गरेका थिए ।
क्षेत्रीय कार्यसमिति “क” सभापति पदमा योङहाङले २९६ मत प्राप्त गर्दा उनको प्रतिद्वन्द्वी एवं काँग्रेस जिल्ला कार्यसमिति सभापतिका आकाङ्क्षी सुरेन्द्रकुमार दाहाल पक्षधर कुमार राई (प्रताप)ले २६२ मत प्राप्त गरेका थिए ।यस्तै कार्यसमितिको सचिवमा योङहाङको प्यानलका यससुन्दर आचार्य र सन्तोष मोक्तान विजयी भएका छन् । आचार्यले ३२६ मत र मोक्तानले २७८ मत प्राप्त गरेका छन् । सचिव पदमा राईको प्यानलका केशव गुरागाँईले २३० मत र टेकराज योङहाङले २०७ मत प्राप्त गरेका थिए ।
सहसचिवमा योङहाङको प्यानलका नरेन्द्र पन्थाक ३०६ मत र सुन्दर थोक्लिहाङ ३१४ मत पाई विजयी भएका छन् । सहसचिव पदमा राईको प्यानलका राजन बुढाथोकीले २२१ मत र रुपेन्द्र तामाङले १७९ मत प्राप्त गरेका थिए ।
उता प्रदेशसभा क्षेत्रीय कार्यसमिति “ख” मा उपसभापति पदमा श्रेष्ठको प्यानलका तेज बहादुर चेम्जोङ २९१ मत र लामा प्यानलका जितबहादुर भण्डारी २७४ मत प्राप्त गर्दै विजयी भएका छन् । उपसभापति पदमा गणेश मिश्रले ११२ मत र महेन्द्रकुमार आङ्देम्बेले १८६ मत प्राप्त गरेका छन् ।
प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सचिवमा भने भरत तुम्बापो र भक्त लावती सर्वसम्मत भएका छन् ।
यस्तै दुई जना सहसचिवमा ज्योती प्रभा भण्डारी २७२ र नरेन्द्र शेर्माले २४२ मत सहित विजयी भएका छन् । सहसचिव पदमा गोपाल घिमिरेले १८० मत र भीम प्रसाद हुँमागार्ईले १४५ प्राप्त
गरेका छन् ।
पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं. क बाट अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि र वडा सभापति गरी ५८४ जना चुनिएका छन् । मतदानमा ५७२ जनाले भाग लिएका थिए ।पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं. ख मा काँग्रेसको क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनका लागि वडा कार्यसमितिका सभापति र क्षेत्रीय प्रतिनिधि गरी ५०५ प्रतिनिधि रहेकामा ४९७ जनाले मतदान प्रकृयामा भाग लिएका थिए ।