नेपालगञ्ज । पश्चिम नेपालको कतिपय ठाउँमा बाढीले उठिबास लगाएको छ। घर, जायजेथा पहिरोले बगाएपछि बस्ती नै सार्नु पर्ने मात्रै होइन परिवार नै क्षत्विक्षत समेत भएको छ। तर, बाँके डुडुवा गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाको सिमानामा रहेको राप्ती नदी किनारमा भने मेला जस्तै चहलपहल छ।
नदीले बगाएर ल्याएको काठ दाउरा संकलन गर्ने नौ वर्षका बालबालिकादेखि ६८ वर्षका वृद्धवृद्धासम्म जुटेका छन् । बाढीमा बग्दै आएको काठ दाउरा संकलन गर्न उनीहरूले ज्यान नै जोखिममा राख्ने गरेका छन्।
हुलाकी सडकको पक्की पुल मुन्तिर दाउरा संकलन गरिरहेका डुडुवा गाउँपालिका–३ हल्कारापुरका ६८ वर्षीय चेतराम यादव यो बेला काठ दाउरा संकलन नगरे वर्षभरि घरको चुलो नबाल्ने बताउँछन् । उनले भने, ‘गाउँ नजिक वन जंगल छैन् । चुलो बाल्न गोबर गुईठाले मात्र सम्भव छैन । त्यसैले राप्तीमा बाढी आएको बेलामा जोखिम मोलेरै भए पनि दाउरा संकलन गर्न बाध्य छौं।’ हल्कारापुर गाउँका बासिन्दा पनि नदीमा बाढी आएपछि काठ दाउरा संकलन गर्न पुग्छन् । नदी तटमा नौं वर्षीय मुकेश यादव पनि भेटिए । अंकुश बोकेका उनी पनि बाढीले बगाएको काठ तानिरहेका थिए।
हल्कारापुर कै १४ वर्षीया संगीता यादवले पनि दाजु रामकिसन यादवसँग दाउरा संकलन गर्न नदी किनारा आएको बताइन् । उनीहरू हरेक वर्ष बाढी आएको बेला यसरी नै आउने गरेको बताइन्। उर्लदो नदीबाट दाउरा संकलन नगरे वर्षभरी चुलो नबाल्ने उनले बताइन्।