पाँचथर ।शुक्रवार विहान बसेको जिल्ला विपत्त व्यवस्थापन समितिको बैठकमा मेची राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय इलामले सहयोग नगरेको प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले गुनाँसो गरे ।
उक्त सडक सम्बन्धी कार्यालयबाट कोहि पनि सम्पर्कमा नआएको उनको गुनासो थियो । यो गुनासोमा बैठकमा सहभागिहरुले पनि समर्थन जनाए ।
पाँचथरमा पहिरोका कारण २८ जनाको मृत्यु, ६ जना बेपत्ता तथा सयौँ विस्तापीत भएपछि यस्तो गुनासो भएको थियो ।
२४ घण्टाभित्र राजमार्ग खुलाउनु पर्ने भएपनि डिभिजन कार्यालयका कर्मचारीहरु सम्पर्कमा पनि नआएको उनको भनाई थियो ।
पाँचथर खण्डमा दजर्नौ स्थानमा पहिरोका कारण सडक अवरुद्ध भएको थियो । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, फिदिममा उपलब्ध स्काईब्रेटरको प्रयोग गरी सडक खुलाईएको थियो ।
विपत्तको बेलामा सडक डिभिजन कार्यालयमात्र नभई अन्य सरकारी कार्यालयले पनि पर्याप्त भुमिका खेल्न नसकेको गुनाँसो बढेको छ । सदरमुकाम फिदिममा रहेका धेरै सरकारी कार्यालयका प्रमुखहरु तथा कर्मचारी दसैँ मनाएर फर्किएका पनि छैनन् ।
संघ तथा प्रदेश अन्र्तगतका धेरै कार्यालयका प्रमुख कार्यालयमा छैनन् । पहिरोका कारण जिल्लामा ठुलो क्षती भईरहेको छ भने जनशक्ति परिचालनमा समेत समस्या छ ।
१ गतेदेखि सरकारी कार्यालय खुलेपनि शुक्रवारमा धेरै कार्यालयका प्रमुखहरु कार्यालयमा भेटिएका छैनन् । शुक्रबार फिदिममा रहेका विभिन्न सरकारी कार्यालयमा पुग्दा प्रमुखहरु भेटिएका थिएनन् ।
दसैँ विदा सकिएको पाँच दिन वित्ता समेत सरकारी कार्यालयका प्रमुख छैनन् । सडक, खानेपानी, सिचाई, कृषि, पशु लगायतका क्षेत्रमा ठुलो क्षती पुगेपनि सम्बन्धीत विषयगत कार्यालयले विवरण संकलन समेत गर्न थालेका छैनन् ।
‘२ गते अपरान्हसम्म सडक खुल्लानै थियो । धेरै कार्यालयका प्रमुख नभएको मलाई जानकारी आएको छ । अत्यावश्यक सेवा सञ्चालन गर्ने कार्यालय प्रमुख नहुँदा विपत्तको समयमा समस्या भएको छ’ प्रमुख जिल्ला अधिकारी ढकालले भने ‘मेरो ध्यानाकर्षण भएको छ । उहाँहरु आएपछि के भएको रहेछ सोध्छु ।’
सदरमुकाम फिदिम लगायतका दर्जनौ खानेपानी आयोजना बगाएको छ । खानेपानीको अभाव पहिरोप्रभावित क्षेत्रमा हुन थालेको छ । तर खानेपानी कार्यालयमा देवनाथ सिंह कार्यालयमा छैनन् । जिल्लाका धेरै सडकमा समस्या छ । तर पूर्वाधार कार्यालय पाँचथरका प्रमुख ललित कुमार चौधरी कार्यालयमा छैनन् । यस्तै जिल्ला समन्वय अधिकारी केशव प्रसाद अर्याल, कोष तथा लेखा नियन्त्रक खगेन्द्र दाहाल, शिक्षा विकास तथा समन्वय कार्यालयका प्रमुख युगमणि सवेहाङ, नापी कार्यालयका प्रमुख जयराम तामाङ, जिल्ला निर्वाचन कार्यालय पाँचथरमा प्रमुख कुमार भट्राई पनि कार्यालयमा छैनन् ।
यान्त्रिक कार्यालयकमा प्रुमख विन्देश्वर यादव विपत्तको बेला कार्यालयमा छैनन् । यस्तै नयाँ सहर अयाोजना कार्यालयका प्रमुख विश्वराम प्रजापति, कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्ट, जलश्रोत तथा सिचाई विकास डिभिज कार्यालयका प्रमुख तेजप्रसाद दाहाल, जिल्ला अस्पतालका प्रमुख डा. वुद्धिवहादुर थापा, अयुर्वेदिक अस्पतालमा प्रमुख सजिंव कुमार शाहा, भेटेनरि अस्पतालका प्रमुख इन्द्र नारायण शाह, प्रदेश लेखा इकाई कार्यालयका प्रुमख सुवाष तामाङ पनि कार्यालयमा छैनन् ।
आईतवारसम्म दसैँ विदा रहेको थियो । मंगलवार रातीदेखि विहिवार दिउँसोसम्म मेची राजमार्ग अवरुद्ध भएपनि शुक्रवार कार्यालय समयमा धेरै जसो कार्यालयका प्रमुख कार्यालयमा थिएनन् । विभिन्न क्षेत्रमा ठुलो क्षती भएकाले प्रहरीमात्र विवरण संकलन गरेर साध्य छैन् । विपत्तको बेला कार्यालय प्रमुख तथा कर्मचारी नहुँदा परिचालमा समस्या भएको देखिन्छ ।
‘सडक खुलाउने र २८ वटा लासको व्यवस्थापन गर्ने काम समयमा गर्यौ । यो विपत्तमा छ । कार्यालय प्रमुख र कर्मचारीको अभाव महुसुस भएको छ । विदामा वा अन्य कारणले बस्नु भएको छ म बुझ्दै छुु’ ढकालले भने ‘मेची राजमार्ग हेर्ने इलामको सडक डिभिजन कार्यालयबाट जति वस्ता गर्नु पर्ने थियो त्यो हुन सकेन् ।’
दसैँ विदा पछि कार्यालयमा समयमा नफर्किने पुरानै रोग हो । बेमौसमि झरिले जिल्लामा उत्पन्न गरेको समस्याका बेला सरकारी कार्यलयका प्रमुख नहुँदा समन्वयमा समेत समस्या भएको छ ।