साहित्यको मूल विषय नै मानिस अनि यसको सर्वोपरि विकास । यसमा आउने कुरा नै हो मानिस अनि प्रकृति । मानिसले मानिस र प्रकृतिमा जे देख्छ त्यही लेख्छ । दृष्टिकोण उसको आफ्नो हो । कसैलाई मन पर्ने नपर्ने सँग सरोकार हुँदैन । जीवन जिउने प्रक्रियामा आएका यावत कुरा नै साहित्यले समेटेको हुन्छ । एउटै धारा वा एउटै गतिमा साहित्य चल्नुपर्छ भन्ने सोच्नु धृष्टता हुन्छ । समाजमा सोचको परिवर्तन आउनासाथ साहित्यमा पनि परिवर्तन आउनु निश्चित हो । यसमा मानिसमा भएको सोचले कार्य गरेको हुन्छ । कसको सोच कति छ त्यति नै उसको उपलब्धि हुन्छ ।
यस लेखाइमा कुरा राख्न खोजिएको हो रम्बास कविताको । रम्बास कवितालाई रम्बास भनुन वा रम्बस त्यो गहन वा सोच्ने विषय हैन । सोच्ने विषय हो रम्बास कवितालाई ठोस कविता भन्नु वा कवितै हैन भन्नु । कविता हो कि हैन त्यसको उत्तर त पाठकले दिन्छन तर ठोस कविताको उत्तर दिने कसले ? ठोस कविताको धारणा कहिले,कसरी, कहाँबाट शुरुभयो त्यसको जानकारी नभै त भन्न सकिँदैन । ठोस (Concrete ) कवितालाई नै चित्र कविता,आकार कविता वा शक्ति कविता भनेको कुरा साहित्यबाट थाह लाग्छ । त्यस किसिमको कवितामा कुनै नीतिगत कुरालाई ल्याइएको पाइँदैन । एउटा चित्र बनाएर त्यस चित्रको विषयमा लेख्नु नै चित्र कविता हो । त्यसको प्रचलन खृ.पू.तेस्रो र दोस्रोमा ग्रीकमा थालिएको देखिन्छ । ती कविताहरू कुनै चित्र भित्र हुन्थे र कवितामा त्यही चित्रको विषयमा लेखिएको हुन्थ्यो । त्यो प्रक्रिया धेरै दिनसम्म रहेन तर सम्पूर्ण रूपमा विलोप पनि भएन ।
कुनै नयाँ कुरालाई प्रतिष्ठा गर्न एउटा लामो समयावधिको प्रयोजन हुन्छ।त्यही लामो समयमा पनि उसले आफूलाई प्रतिष्ठा गर्न सकेन भनेँ विलुप्त प्राय हुन्छ । सहित्यमा अध्ययन गर्ने विधा धेरै छन ।त्यसमध्येको एउटा प्रमुख विधा हो कविता । कविताले मानिसको अन्तर्मंनको भावनालाई व्यक्त गरेर एउटा साहित्य सृजना गर्छ । त्यो कविता एउटै धारा वा गतिमा हिँड्नुपर्छ भन्ने वाध्यवाधकता रहँदैन । यदि त्यस किसिमको धारणा हुन्थ्योभनेँ साहित्यमा हरेक वादको आवश्यकता नै हुने थिएन । साहित्यको कविता विधालाई नयाँ प्रयोग गरेर उपविधाका रूपमा आएको पक्ष हो रम्बास कविता । यसको अवधारणा भारतको असम राज्यका एकजना साहित्यानुरागी मिलन बोहोराज्यूको हो । यसलाई एउटा नीतिमा बाँध्नु पर्छ भन्ने अर्काजना व्यक्ति हुन प्रा. देवीचरण सेडाईँ ।
एउटा कविता लेखेर त्यसलाई रम्बासको आकृतिमा मिलाउन सक्नु यसको धारणा हो । एकसय अक्षर भित्र आफ्नो मनको भावना व्यक्त गर्न सक्षम हुने र रम्बासको आकृति भित्र राख्न सक्षम हुने व्यक्ति नै रम्बास कवि मानिन्छ । विशेष गरि शुद्ध र सबल विषयलाई अँगालेर लेख्नु नै रम्बास कविहरूको लक्ष्य हो । यो रम्बास कविता पारम्परिक कविता विधाको रुखमा पलाएको ऐँजेरु हैन । यो त्यही पारम्परिक कविताको रुखको एउटा डालो हो जहाँ थोरै पात र स साना फूल फुल्ने गर्छन ।यसलाई ऐँजेरु भन्नेहरूलाई थाह हुनु पर्थ्यो कि यसले पारम्परिक कवितालाई विनष्ट गर्ने कुनै किसिमको रोग लिएर आएको छैन । कुनै पनि उपविधाले एउटा सबल विधालाई विनष्ट गर्छ भन्नु त्यस विधामाथि ऊ अनभिज्ञ हुनु मानिन्छ । हुन त पूर्वमा आकृति कविताको धारणा चौथो शताव्दीमा चीन देशमा आरम्भ भएको थियो । सु हुइ जुआन्जि (Su Hui Xuanji) ले चीनमा आकृति कविताको आरम्भ गरेका भएता पनि उनको समय पछि यो विधा सकिएन, रह्यो नै ।
विश्वका पूर्व पश्चिम दुवै तर्फका मुलुकहरूमा यस विधाले जन्म त लियो तर धेरैदिन नरहेता पनि आफ्नो छाप भनेँ राखेकै छ ।
चित्र काव्यको धारणा संस्कृतमा भएको उल्लेख छ । त्यस अतिरिक्त हिन्दी,मराठी र तामिल साहित्यमा पनि उल्लेख नभएको हैन। चित्रकाव्यको धारणा र आजको यो रम्बास कविताको धारणामा भनेँ धेरै अन्तर छ । चित्र काव्यले चाहिँ त्यही चित्रको वर्णन गर्दछ जस्तो चित्र हुन्छ तर रम्बास कविताले रम्बास भित्र रहेर पनि रम्बासको या ज्यामितीय आकृतिको वर्णन गर्दैन । कविले आफ्नो मनको भाव सूक्ष्म रूपमा व्यक्त गरेर रम्बासको आकृतिभित्र राख्ने धारणा नै रम्बास कविता हो । यसमा भाव,शिल्प,अनुभूति र विषयवस्तुलाई यथाशक्य छर्लङ्ग्याउने गरिएको हुन्छ । छोटो समयमा छोटो लेखाइले पाठकलाई मनोविनोद दिने त्यसको सूक्ष्मज्ञान दिनसक्नु उत्तर आधुनिक कालको साहित्यिक धारणा हो । यसले सोही अनुरूप कार्य गर्न सके कविता सफल भएको मानिने छ । साहित्यको कविता विधालाइ यसले अफाल्न भने खोजेको कदापि नै हैन , तर केही साहित्य लेख्नेहरूले (जसले रुचाएन) भने यसलाई वकवास व कविताको विध्वङ्शी शत्रु पनि मानेको देखिन्छ ,जुन चाहिँ सम्पूर्ण अशुद्ध धारणा हो ।
जहाँसम्म रम्बास कविता लगायत अरू कविताका उपविधाहरू असमका कविहरूले लेख्ने कि नलेख्ने प्रश्न छ यस विषयमा यतिनै भन्नु छ कि कसले के लेख्न मन पराउँछ त्यो उसको व्यक्तिगत चयन हो। कसैले श्रुतलिपि दिएर या निर्देश दिएर काव्य सिर्जना हुँदैन। भारतको असमजस्तो ठाउँमा जहाँ नेपाली भाषाको पठनपाठन गर्ने वुनियादी सुविधा नै छैन त्यहाँ कसैले छन्दकविता या गद्यकविता लेख्ने परामर्श दिनुचाहिँ सरासर अपरिपक्व सुझाव हो। गजल, मुक्तक, हाइकु, रम्बासजस्ता कविता लेखेर जसैतसै एउटा भाषाचर्चा गर्ने माहोल बनिसकेको बेलामा कतिपय मुर्धन्य साहित्यिकको आह्वानले हतोत्साह गर्नु बाहेक अर्थोक केही गर्दैन।
देवीचरण सेडाईँ
प्रवक्ता, नेपाली विभाग
डिगबोइ ,असम
भारत