काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त ९ साउन २०७५ मा घरैबाट हराइन् । परिवारले छोरीको खोजी गरिदिन भन्दै अस्थायी प्रहरी चौकी, भगतपुरलाई गुहार्यो । आमा दुर्गादेवी पन्तका अनुसार प्रहरीले उनको कुरै राम्ररी सुनेन ।
पोइल गइहोला, भोलि घर आउँछे भनेर प्रहरीले भनेको थियो’ उनले त्यसवेला अनलाइनखबरसँग भनेकी थिइन्, ‘शायद प्रहरीले त्यतिवेलै खोजी गरिदिएको भए यो दिन आउँदैनथ्यो होला ।’ दुर्गादेवीका भनाइमा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदीश भट्टले पनि ‘भोलि खोजौंला’ भनेका थिए ।
नेपाल प्रहरीका एक अनुसन्धान अधिकृतका अनुसार निर्मला प्रकरणमा प्रहरीको कमजोरी यही विन्दुबाट शुरू भएको थियो ।
‘पीडितलाई प्रहरीले छोरीको खोजी गरिदिन्छ भन्ने विश्वास दिलाएर शुरूबाटै काम गरेको भए, शायद यो घटना यति धेरै बिग्रिने थिएन’ अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) पीताम्बर अधिकारी भन्छन्, ‘दुःखमा परेका परिवारका लागि प्रारम्भिक रेस्पोन्स नै सबैभन्दा ठूलो कुरा हुन्छ ।’
अझ पीडितको शव भेटिएपछि पनि तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट घटनास्थलमा पुगेनन् । त्यसले पीडित र स्थानीयमा आक्रोश बढायो । घटनास्थलमा पन्तको कपडा पखालिदिएको विषयले प्रहरीले हत्यारा लुकाउन खोजेको आशंकालाई बल दियो ।
‘भलै महिला प्रहरी जवानले बीभत्स अवस्था र मानिसहरूको हुल देखेपछि शव छोप्न त्यही कपडा प्रयोग गरेकी थिइन्’ अधिकारीले सुनाए, ‘गम्भीर प्रकृतिका घटनामा पीडित पक्षलाई विश्वासमा राख्न नसके परिणाम सुखद् हुँदैन भन्ने प्रमाण यो घटना हो ।’
अधिकारीको भनाइमा वैज्ञानिक हिसाबबाट हेर्ने हो भने घटनास्थलमा खटिने प्रहरीले कपडा पखाल्नु गम्भीर गल्ती हो । ‘तर कहिलेकाहीं विज्ञान मात्रै हेरेर हुँदैन, सामाजिक परिवेश, वातावरण र अन्य विषयको पनि मूल्यांकन गर्नुपर्छ’ उनी थप्छन्, ‘त्यसपछाडि नियत थियो थिएन भन्ने कुरा पनि हेर्नुपर्छ ।’
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २५ दिनपछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक त गर्यो तर पीडितलाई अनुसन्धानमा भइरहेको प्रगतिबारे पहिल्यै अवगत गराएर विश्वासमा लिन नसक्दा विष्ट घटनामा संलग्न रहेकोमा स्थानीयले विश्वासै गरेनन् ।
अनुसन्धान अधिकृत डीएसपी अंगुर जिसीको दाबी अनुसार वस्तुस्थिति र प्रमाणले विष्टबाहेक अन्य आरोपी हुनै नसक्ने संकेत गरेको थियो । प्रहरीले थप प्रमाण जुटाउन भन्दै विष्टको डीएनए जाँचका लागि नमूना संकलन गर्यो । तर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएका जाँचमा निर्मलाको ‘भेजाइनल स्वाब’बाट निकालिएको डीएनएसँग नमूना नमिलेपछि घटनामा ट्वीस्ट आयो ।
विष्टलाई प्रहरीले छाड्नुपर्यो, अनुसन्धान अधिकृतहरू नै आरोपित बने । बलात्कारपछि हत्या भएको घटनाले देशभर सनसनी मच्चायो । तीन वर्षमा थुप्रै अनुसन्धान अधिकृत, जिल्ला प्रहरी प्रमुख, तीन प्रहरी महानिरीक्षक र एक प्रधानमन्त्री पनि फेरिए तर, निर्मला पन्त प्रकरण सुल्झिएको छैन ।
प्रहरीले निर्मला प्रकरणबाट पाठ सिक्ने अनुसन्धान अधिकृतहरूको भनाइ थियो । तर तीन वर्षपछि ११ असार २०७८ मा चितवनबाट हराएकी सुजिता भण्डारी प्रकरणमा पनि प्रहरीको उस्तै कमजोरी देखियो ।
भण्डारीले आफू अपहरित भएको भनेर फोन गरेकाले उद्धार गरिदिन भन्दै दिदी कविताले इलाका प्रहरी कार्यालय, भण्डारामा निवेदन दिइन् । तर प्रहरीले घटनाको गाम्भीर्यलाई बेवास्ता गर्दै पीडितमाथि नै शंका गर्यो ।
जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले पनि उनी अपहरित भएको हुनसक्ने नदेखिएको बताउँदै ‘कोही केटा’सँग गएको हुनसक्ने आशंका गर्यो । जब २० असार २०७८ मा भण्डारीको शव घर नजिकैको ब्रम्हास्थानी सामुदायिक वनको आँपगैरी खोल्सामा भेटियो, तब प्रहरी झस्कियो ।
अनुसन्धानमा संलग्न एक अधिकृत सुनाउँछन्, ‘त्यसवेलासम्म अपहरण वा हत्या भएको हुनसक्ने कल्पनै गरेका थिएनौं, प्राविधिक विश्लेषणले पीडितले घटना हुनुअघि झूटो बोलेको देखाइरहेको थियो ।’
पूर्व डीआईजी हेमन्त मल्ल कुनै पनि सूचना वा जानकारीलाई प्रहरीले कम आक्न नमिल्ने बताउँछन् । भलै हालसम्मको अनुसन्धानले सुजिताले आत्महत्या गरेको संकेत गरेको छ तर हराउने वित्तिकै प्रहरी सुजितासम्म पुग्न सकेको भए, अप्रिय घटना नहुन पनि सक्थ्यो ।